उपेन्द्र सुब्बा भन्छन्ः ‘हावा गफ दिने मान्छे भन्लान् भन्ने पीर छ’

365
उपेन्द्र सुब्बा

प्रभाकर गौतम/काठमाडौं, २९ फागुन–उपेन्द्र सुब्बाको हुलिया-कालो, सेतो र कैलो दाह्री-जुँगा र कपाल। हुलियाजस्तै उनको रूचि पनि बहुरंगी छ।

‘कबड्डी’ शृंखला, ‘तान्द्रो’, ‘देश खोज्दै जाँदा’, ‘पुरानो डुंगा’ लगायत फिल्मका पटकथा लेख्नुअघि उनी कथाकार थिए । त्यसअघि कवि र अझअघि गीतकार ।

जसरी चिनिए पनि उनको परिचयको केन्द्रमा लेखक थियो । अब अर्को कदममा निर्देशक बन्ने पालो आएको छ । उनको निर्देशनको पहिलो फिल्म ‘जारी’ आगामी जेठमा सार्वजनिक हुँदैछ ।

छायांकन सकेर सम्पादन, ध्वनि, संगीत, पार्श्व संगीत जस्ता कामका लागि उनको धेरै समय स्टुडियोमा बितिरहेको छ ।

‘चौपट छ । निद्रा हराएको छ, सेवा रेकर्डिङ स्टुडियो, अनामनगरमा भेटिएका उपेन्द्र खबर सुनाउँछन् ।

फिल्मका लागि रातदिनको चटारो, पैसा खोज्ने दौडधूप र अनेक काममा अल्झिएका उनी अस्तव्यस्त छन्, दुःखी भने छैनन् । प्रेममा पर्दा निद्रा हराए पनि तारा गनेर रमाउने प्रेमीको हालमा छन् ।

उनी भन्छन्, ‘सिर्जनात्मक काममा प्रक्रियाको विशेष अर्थ हुन्छ । भनूँ, म प्रक्रियामा रमाइरहेको छु ।’

प्रक्रियामा रमाइरहेका उपेन्द्रलाई फिल्मको परिणामबारे सोच्दा भने तनाव भइहाल्छ । यसको कारण छ– चियागफ, भट्टीगफ वा अन्य अनौपचारिक जमघटमा उपेन्द्रले नेपाली फिल्मबारे साथीहरूलाई मज्जैले ‘गफु दिएका छन् । केही फिल्मको स्तरबारे ‘कुरा काटेका’ छन् ।

सेटोपाटी

Facebook Comments