विश्व बैंकको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशत

230
विश्व बैङ्क

काठमाडौं, ३० चैत–विश्व बैंकले चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुनसक्ने अनुमान गरेको छ।

बैंकले दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै अप्रत्यासित रूपमा आएको कोरोना महामारीका कारण अर्थतन्त्रमा शिथिलता आउनसक्ने अनुमान गरेको हो । यो वर्षको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतसम्मको बीचमा सीमित हुने बैंकको प्रक्षेपण छ ।

न्यून रेमिट्यान्स, व्यापार र पर्यटन ठप्प, अन्तरदेशीय आवागमनमा लागेको रोकका कारण अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने निश्चित छ ।

यो आर्थिक वर्षको सुरूदेखि नै पर्यटन तथा व्यापारमा राम्रै गतिविधि भए पनि धान उत्पादनमा आएको गिरावटका कारण वृद्धिदर प्रभावित हुने निश्चित थियो । पछिल्लो समयको महामारीका कारण सेवा क्षेत्र पनि ठप्प भएका कारण आर्थिक वृद्धिदर प्रभावित हुने बैंकको अनुमान छ ।

अहिलेको अवस्था कति समय लम्बिन्छ भन्ने कुराले वृद्धिदर तय हुने बैंकले बताएको छ । अहिलेको अवस्था आर्थिक वर्षको अन्त्यसम्म पुगेमा १.५ प्रतिशतसम्म सीमित हुनेछ । त्यसअघि नै सामान्य भए पनि यो वर्षको वृद्धिदर २.८ प्रतिशतभन्दा बढी नहुने बैंकले जानकारी दिएको छ ।

अत्यावश्यक वस्तु बाहेकको आयात पनि रोकिएको अवस्थामा एकातिर सरकारी खर्च बढ्दै जाने र अर्कोतिर राजस्व पनि न्यून संकलन हुने अवस्थामा सरकारको बजेट घाटा बढ्दै जाने बैंकले अनुमान गरेको छ ।

बैंकले यो वर्ष नेपालमा सरकारी खर्च ६ प्रतिशतले बढ्ने र निजी खर्च १.५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । त्यस्तै, वर्षभर देशमा पुँजीगत लगानी ८ प्रतिशतले घट्न् प्रक्षेपण गरेको छ ।

त्यस्तै, बैंकले कोरोना महामारीका कारण नेपालमा गरिबी बढ्ने प्रक्षेपण गरेको छ । रेमिट्यान्स आम्दानी घट्नु, अनौपचारिक क्षेत्रका कामदारले रोजगारी गुमाउनु तथा अत्यावश्यकीय वस्तुको मूल्य बढ्दा गरिबी झनै बढ्ने बैंकको अनुमान छ ।

Facebook Comments