ध्रुवचन्द्र गौतमलाई वसुन्धराश्री र सरुभक्तलाई मानश्री पुरस्कार

177
डा.ध्रुवचन्द्र गौतम

काठमाण्डौं, ७ वैसाख–वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई वि।सं।२०७७ सालको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको साथमा नगद ७५ हजार रुपियाँसहित सम्मानपत्र हुनेछ ।

वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्धारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरेका भन्दै गौतमलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, प्रज्ञाप्रतिष्ठानको उक्त बैठकले आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्ने साहित्यकार सरुभक्तलाई वि.सं. २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपियाँसहित सम्मानपत्र हुने छ ।

वि.सं. २००१ पुस २ गते वीरगञ्जमा जन्मेका साहित्यकार डा.ध्रुवचन्द्र गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेलसरको चोटपटक, अलिखित, निमित्त नायक, एक शहरमा एक कोठा, स्व. हीरादेवीको खोज, दुबिधा, अग्निदत्तं अग्निदत्त, फूलको आतङ्क, तथाकथित, बाढी, उपसंहार अर्थात् चौंथो अन्त्य, मौन, भीमसेन-४ को खोजी र घुर्मी (उपन्यास), आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास), अँध्यारो द्वीपमा, संरक्षक, कथादृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा, जेलिएको र साठी वर्षमा हृदयाघात (कथासंग्रह) र त्यो एउटा कुरा, भष्मासुरको नलिहाड र श्री कृष्णलीला (नाटक) कृतिहरु प्रकाशित भएका छन् ।

सरुभक्त

वि.सं. २०१२ मंसिर १२ गते पोखरामा जन्मेका साहित्यकार सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरु (मुक्तकसंग्रह), बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कवितासंग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कापुरुष, कुरुप मसिहा र झुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्मण्ड, र यामागल (कथासंग्रह), युद्उही ग्यासच्याम्वरभित्र, इतिहासभित्रको इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरु, गाउँको कथा यस्तै हुन्छ है, बालबालिकाहरुको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी (नाटकसंग्रह) र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध (उपन्यास) प्रकाशित भएका छन्।

Facebook Comments