‘गुर्जो खाऔं, प्रतिरोध क्षमता बढाऔं’

392
फाइल फोटो

लम्की, ८ बैसाख–कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ ।

नर्सरीमा फालाफाल पाइने गुर्जो यतिखेर अभाव हुन थालेपछि कतिपयले मूल्य तिरेर ल्याउन थालेका छन् । यहाँ उद्योगी, प्राध्यापक, स्वास्थ्यकर्मी र योगसाधकले मात्र नभई यतिखेर सर्वसाधारणले गुर्जो खान थालेका छन् ।

कसैले दिनमा एक पटक त कसैले सांँझ बिहान दुई पटक खाने गरेका छन् । गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको उनीहरुको भनाइ छ ।

‘गुर्जो, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझ बिहान खाइरहेको छु’, उद्योगपति सुरतबहादुर विष्टले भने, ‘गुर्जोको झोल हाम्रो परिवारले एक लर्षदेखि खाइरहेको छ । हामीलाई फाइदा भएको महसुस भएको छ ।’

उनले आफ्नो प्रयोगका लागि बारीमा गुर्जो रोपिएको बताए । ‘लकडाउनपछि गुर्जो माग्न धेरै आउंँछन्, औषधि हो, सङ्कटका बेला दिनुपर्छ भनेर अलिअलि सबैलाई दिने गरेका छौं’, विष्टले भने, ‘गुर्जो खानेको संख्या ह्वात्तै बढेको छ ।’

गुर्जो खोज्न महिलाहरु यतिखेर नर्सरीमा जाने गरेका छन् । ‘कोरोना भाइरस संक्रमणबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जो खान थालेका छन्’, स्थानीयवासी सीताकुमारी खनालले भनिन्, ‘पहिले सजिलै पाइने गुर्जो यतिखेर पाउन गाह्रो भएको छ ।’

गुर्जो कैलालीका सबैजसो सामुदायिक वन तथा नर्सरीमा पाइन्छ । ‘यो लहरा जस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ’, खनाल भन्छिन्, ‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।’

पछिल्लो समय आयुर्वेद स्वास्थ्यकर्मीले पनि गुर्जोको प्रयोग गर्न सुझाव दिन थालेका छन् । ‘मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जोको नियमित प्रयोगले लाभ मिल्छ’, टीकापुर आयुर्वेद अस्पतालका प्रमुख अशोककुमार मिश्रले भने, ‘सुत्केरीले बाहेक सबैले गुर्जो प्रयोग गर्न सक्छन् । नेपालमा जहाँ पनि पाइने गुर्जो जडिबुटीको रुपमा प्रयोग गर्ने बानी बसाल्न हो भने स्वस्थ रहन सकिन्छ ।’

भागीरथी पोलिक्लिनिक टीकापुरका आयुर्वेदिक चिकित्सक बमबहादुर सिंह नेपाली गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउँछन् । ‘प्रतिरोधात्मक शक्ति बढाउने भएकोले धेरैले सेवन गर्न थालेका छन्’, डा। नेपाली भन्छन्, ‘गुर्जोसँगै अन्य औषधि पनि आवश्यक हुन्छ । यसको सेवनले घाटा भने गर्दैन ।’

रासस

Facebook Comments