पिएसजीलाई फ्रेन्च लिग वान विजेता घोषणा गरियो

आगामी वर्ष च्याम्पियन्स लिग खेल्ने टिमको पनि टुंगो लगाइयो

148

एजेन्सी, १९ वैसाख–विश्वभर कोरोना भाइरसको महामारीका कारण अहिले सम्पूर्ण खेलकुद गतिविधि स्थगित छन् । युरोपका प्रतिष्ठित लिगहरु एकपछि अर्को गर्दै स्थगित भइरहेका छन् । यस्तोमा फ्रान्सको प्रतिष्ठित लिग आयोजनक फ्रेन्च लिगले शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन पिएसजीलाई फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको छ । अंक र खेलको आधारमा पिएसजीलाई च्याम्पियन घोषणा गरिएको हो ।

कोरोना भाइरसका कारण यो सिजनका १० चरणको खेल बाँकी नै छन् । प्रतियोगिता हुने आसमा स्थगित गरिएको अवस्थामा मंगलबार प्रधानमन्त्री एडुवार्ड फिलिपले आउँदो सेप्टेम्बरसम्म कुनै पनि खेलकुद गतिविधि नगर्न निर्देशन दिएपछि सिजनको विजेता पिएसजीलाई घोषणा गर्दै सिजन अन्त गरिएको हो । लिग वानमा १० चरणको खेल बाँकी रहँदा पिएसजीले दोस्रो स्थानको मार्सेलीलाई १२ अंकले पछि पारेको थियो । पिएसजीको २७ खेलबाट ६८ अंक रहेको छ । दोस्रो स्थानको मार्सेलीको २८ खेलबाट ५६ अंक छ ।

यससँगै पिएसजी पछिल्लो आठ सिजनमा सातौंपटक फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको छ । पिएसजी लगातार तेस्रो सिजन लिग वान च्याम्पियन बन्न सफल भएको हो। गत मार्च ७ र ८ मा लिग वानको २७औं र २८औं चरणको खेल खेलाइएको थियो । त्यसपछि प्रतियोगिता स्थगित भएको हो । यद्यपि फ्रेन्च लिगका प्रमुख कार्यकारी डिडिएर क्विलटले पिएसजीलाई उपाधि सुम्पिने विषयमा अपिल हुन सक्ने बताए पनि निर्णय सही भएको जिकिर गरेका छन् ।

त्यस्तै, पिएसजी, मार्सेली र रेनिस अर्को सिजनमा च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । रेनिसले च्याम्पियन्स लिगको छनोट चरणको खेल खेल्ने छ । लिल, रेइम्स र नाइसमध्ये एकले युरोपा लिग खेल्ने छन् । युइएफएले २५ मे सम्ममा सम्पूर्ण घरेलु लिग हुने नहुने अवस्थाका बारेका जानकारी गराउन समयसीमा दिएको थियो । यस्तै, एफसी लोरेन्ट फ्रेन्च लिग टु च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा हुँदा आरसी लेन्स पनि लिग वानमा बढुवा भएको छ ।

एलएफपीको यो निर्णयले भने एइमेन्स र टोलुसो भने मारमा परेका छन् । दुवै टोली १० खेल बाँकी छँदै दोस्रो डिभिजनमा घटुवा हुने भएका छन । रेलिगेसन जोनमै रहेको निम्सको भने शीर्ष डिभिजनमै रहने सम्भावना रहेको छ । लिग टु मा प्ले अफ नरहेकाले निम्स शीर्ष डिभिजनमै रहन सक्ने संभावना कायम छ ।

Facebook Comments