वडाबासीबाटै कुटिए पचालझरनाका वडाध्यक्ष न्यौपाने

109

कालीकोट, २० बैसाख–कालीकोटको पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष रत्नलाल न्यौपाने वडाबासीबाटै कुटिएका छन् ।

उपभोक्ता समितिको विवाद मिलाउन खोज्दा ५२ वर्षीय न्यौपानेलाई बुधबार दिउँसो स्थानीय पाँच युवाले आक्रमण गरी सख्त घाइते बनाएका हुन् । न्यौपानेको टाउकोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वडावासी २१ वर्षीय उमेश, २० वर्षीय पारस, २२ वर्षीय तिलक, २० वर्षीय जनक र १९ वर्षीय कमल न्यौपानेले वडाध्यक्ष न्यौपानेमाथि कुटपिट गरेका थिए । स्थानीय मन्दिर ९थान० निर्माण उपभोक्ता समितिमा आफ्ना मान्छे नपरेको भन्दै युवाले बुधबार नै वडा सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गरेका थिए ।

उनीहरुलाई सम्झाउने क्रममा वडाध्यक्षमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले मन्दिर निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गरेको छ । कुटपिटमा संलग्न सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । उनले पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको बताए ।

वडाध्यक्ष न्यौपानेलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ । मेडिकल कलेजले काठमाडौं रिफर गरे पनि हेलिकप्टर नपाउँदा लैजान नसकिएको पत्नी दुर्गा न्यौपानेले बताइन् ।

Facebook Comments