प्रिमियर लिगः न्युट्रल भेन्युमा खेल्नु पर्ने भए रेलिगेशन हटाउनु पर्ने

309

एजेन्सी, २२ वैसाख–इङ्लिस प्रिमियर लिगका अधिकांश क्लबहरुले लिगका बाँकी खेलका लागि रेलिगेसन पद्धति हटाए मात्रै तटस्थ रंगशाला (न्युट्रल भेन्यु) प्रयोग गर्ने बताएका छन् । यसअघि शुक्रबार बसेको शीर्ष क्लबहरुको बैठकमा तटस्थ रंगशाला प्रयोग गरेर सिजन सम्पन्न गर्ने निश्कर्ष निकालिएको थियो ।

ब्रिघटन क्लबले तटस्थ रंगशाला प्रयोगले अपनत्व कायम नरहने भन्दै तटस्थ रंगशाला प्रयोगमा असहमति जनाएको छ । यस्तै अन्य क्लबहरुले पनि रेलिगेशन पद्धति हटाए तटस्थ रंगशालामा खेल्न सकिने प्रतिक्रिया दिएका छन् । रेलिगेसन जोनका निकट रहेका क्लबहरुका आगामी खेल घरेलु रंगशालामा खेल्ने साबिक तालिका थियो । तर, कोरोना भाइरसको महामारीका कारण लिग गत मार्च १३ देखि स्थगित भएको छ ।

लामो समय खेल रोकिएपछि अधिकांश क्लबहरु जसरी पनि यो सिजन सम्पन्न गर्न सहमत भएका छन् । लिगमा अझै ९२ खेल बाँकी छन् । सिजन सम्पन्न गर्न क्लबहरु बन्द रंगशालामा खेल्न तयार भएका छन् ।

शुक्रबारको बैठकमा क्लबहरुले खेलाडीको स्वास्थ्य परीक्षण, मास्कको प्रयोग, तथा बन्द रंगशालालगायतका मापदण्ड पुरा गरी प्रशिक्षण सुरु गर्ने र बाँकी खेल मे को अन्त्यतिरबाट सुरु गर्ने निश्कर्ष निकालेका थिए ।

Facebook Comments