गाउँपालिकाका प्रमुखसहित ३ सय जनाको क्‍वारेन्टाइन बसाइ पूरा

143

पर्वत, २२ वैसाख–मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुखसहित ३ सय जनाको होम क्‍वारेन्टाइन बसाइ पूरा भएको छ । मुस्ताङको हिउँदे जाडो छलेर व्यापार गर्नका लागि ३ महिना अगाडिदेखि म्याग्दी, बागलुङ, पर्वत, पोखरा र काठमाडौँसम्म पुगेकाहरूलाई गाउँ फर्काइएपछि झन्डै ३ सय जनालाई होम क्‍वारेन्टाइनमा राखिएको थियो ।

होम क्‍वारेन्टाइनमा बस्नेमा गाउँपालिकाका प्रमुख फेन्चोक छेप्तेन गुरुङ पनि रहेका थिए । बाहिरी जिल्लामा पुगेकाहरूलाई मुस्ताङ फर्काउँदा उनीहरूमा संक्रमण जोखिम हुन सक्ने भएकाले गाउँपालिकामा भित्रिएका सबै जनालाई होम क्‍वारेन्टाइनमा राखिएको र कोहीमा पनि शंकास्पद लक्षण नदेखिएको गाउँपालिका प्रमुख गुरुङले बताए । आइतबारसम्म होम क्‍वारेन्टाइनमा बसेकाहरू सोमबारबाट मात्रै घर बाहिर निस्कन थालेका छन् ।

बाहिर घुमेका मान्छेहरू बढी जोखिममा हुने भएका कारण गाउँ भित्रिएकाहरूलाई कडाइका साथ होम क्‍वारेन्टाइनमा राख्नुपरेको गुरुङको भनाइ छ । ‘जाडो छल्न र व्यापार गर्न यो गाउँपालिकाबाट बाहिरिएकामध्ये ३ सय जनालाई पालिकाले उद्धार गरेर गाउँमा ल्याएको थियो । ‘उहाँहरूमा संक्रमणको जोखिम हुने भएकोले होम क्‍वारेन्टाइनमा राखिएको थियो । यो अवधिमा कसैमा पनि कुनै शंकास्पद लक्षण देखा परेन,’ उनले भने, ‘म उद्धारकै लागि काठमाडौँ पुगेका कारण मुस्ताङ आएपछि होम क्‍वारेन्टाइनमा नै बसेको थिएँ ।

मलाई पनि कुनै समस्या नआएपछि बल्ल घर बाहिर निस्कन थालेको छु ।’ देशका कतिपय ठाउँमा आइसोलेसनमा पठाइएका व्यक्तिहरू नै भागिरहेको तथा होम क्‍वारेन्टाइन बसाइँमा पनि लापरबाही गरिरहेको सन्दर्भमा आफैं पनि क्‍वारेन्टाइनमा बस्दा नागरिकले नियम पालना गर्न बाध्य हुने भएकोले समेत आफू पनि क्‍वारेन्टाइनको नियम पालना गरेर घरमा नै बसको प्रमुख गुरुङ बताउँछन् । ‘मैले अरूलाई क्‍वारेन्टाइनमा बस, घर बाहिर ननिस्क भनेर मात्रै त भएन नि,’ उनले भने, ‘म आफैैं नियम पालना गरेर क्‍वारेन्टाइनमा बसेर देखाएँ भने अरूलाई पनि त्यो नियम मान्नुपर्ने बाध्यता हुन्छ ।’

हिउँदे व्यापारका लागि मुस्ताङ बाहिर पुगेकाहरू धेरै जना फर्किएको भए पनि अझै केही नागरिक भने पोखरा र काठमाडौँ नै रहेको र उनीहरूले वैशाख २५ गतेसम्मको लकडाउनको अवधिलाई पर्खिरहेका छन् । पोखरा र काठमाडौँ पनि घर बनाएर बसेकाहरू लकडाउनको अवधिमा त्यतै रहेको र उनीहरू जिल्ला भित्रिन चाहेमा २५ गतेसम्मको अवस्था हेरेर सरकारको निर्णयअनुसार जिल्लामा लैजाने वा नलैजाने विषयमा निर्णय गरिने गाउँपालिकाले बताएको छ ।

Facebook Comments