अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने

213

एजेन्सी, २३ वैसाख–कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेको अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ । यसअघि, राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो । अघिल्लो चौमासमा भन्दा पाँच गुणा बढी ऋण लिनुपर्ने अवस्था रहेको र यो सन् २००८ मा निम्तिएको वित्तीय संकटभन्दा पनि खराब रहेको बीबीसीमा उल्लेख छ । सन् २०१९ मा अमेरिकाले कूल १२ खर्ब ८० अर्ब रुपैयाँ ऋण काढेको थियो ।

कोरोना महामारी निम्तिएपछि स्वास्थ्य वित्त पोषण र प्रत्यक्ष भुक्तानीका लागि त्यहाँ ३० खर्ब डलरको प्याकेज ल्याइएको छ । यो प्याकेज अमेरिकी अर्थतन्त्रको झन्डै १४ प्रतिशत हुन आउँछ । पछिल्लो महामारीले निम्त्याएको वित्तीय संकटसँगै अमेरिकाको ऋण २५० खर्ब डलर पुगेको  छ । नगदको कमी भएपछि अमेरिकी सरकारले कर तिर्ने अवधि १५ अप्रिलसम्मका लम्ब्याएको छ । कोरोना प्रभावित नागरिकलाई लागि थप सहायता दिनेबारे चर्चा भइरहेपनि रिपब्लिकन सांसदहरुले अधिक खर्च र बढ्दो ऋणबारे चिन्ता जनाउन थालेका छन् ।

अमेरिकाले सरकारी वण्ड बेचेर ऋण लिने गर्छ । कोरोना भाइरस फैलनुअघि नै अमेरिकामाथि ऋणभार थपिँदै थियो । कैयौं अर्थशास्त्रीहरुले दीर्घकालिन विकासका लागि यस्तो अवस्था निम्तिनु जोखिमपूर्ण हुने बताइरहेका थिए । अमेरिकी कंग्रेसको बजेट कार्यालयले यो वर्ष ३७ खर्ब डलर बजेट घाटा हुने प्रक्षेपण गरेको थियो ।

Facebook Comments