कोरोनामुक्त भएपछि कोशी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज

171

विराटनगर, २४ बैसाख-कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गरेका छन् । डिस्चार्ज भए पनि उनीहरुलाई अझै एक साता विराटनगरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिने जनाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी तीन जनामध्ये दुई जना झापा र एक जना भोजपुरका छन् ।

Facebook Comments