विकास र सम्बृद्धिका लागि रोटरीले उपलब्धि मुलक काम गर्ने

67
मोहन निरौला

सन् १९०५ फेव्रवरी २३ तारीखमा अमेरिकाको सिकागो शहर भन्ने ठाउँमा पावल ह्यारिससहित अन्य चारजना मिलेर स्थापना भएको रोटरी अहिले विश्वभरका १ सय ६६ देशमा फैलिएको छ । यी चारजना फरक फरक विधामा आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका थिए । उनीहरुको उद्देश्य भने आफ्नो व्यपार व्यवसायलाई कसरी बजारीकरण गर्नका निमित्त आम जनताको स्तरोन्नति कसरी गर्न सकिन्छ भन्ने सोचका साथ खडा भएको संस्था हो ।

देशमा ३५ हजारभन्दा बढी क्लबहरु छन् । विश्वभर रोटरीका १ दशमलव २ मिलियन यसका सदस्य छन् । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा समेत लिने गरेका छन् । आज जुलाई १ तारीख । हरेक वर्ष यहि दिन विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछन् । यसै क्रमम रोटरी क्लब अफ काँकरभिट्टामा आगामी एकवर्षका लागि मोहन निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भए अनुसार उनले समेत पदभार ग्रहण गरेका छन् । यसै विषयमा लक्ष्मी उप्रेतीले रोटरीको सेरोफेरोमा रहेर गरेको कुराकानी प्रस्तुत छ ।

रोटरी क्लब के हो ?

छोटो शब्दमा भन्ने हो भने रोटरी भनेको आफ्ना स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहति वा समाजका लागि केही गर्नुपर्छ भन्ने सकरात्मक सोच भएका निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु अटाउने सामुहिक संस्था हो ।

तर, रोटरीको परिभाषा यति मै सीमित राख्नु हुदैंन भन्ने मलाई लाग्छ । उद्योगी व्यावसायीहरुलाइ सांगठानिकरुपमा एक ठाउँमा गोलबद्घ बनाएर आफुमा रहेकोे सीपको सदुपयोग समाजप्रतिको उत्तरदायित्व वहन गराउने गदैं संस्था पनि रोटरी हो ।

यसको स्थापनाका बारेमा भन्नु पर्दा ?

-यसको स्थापनका बारेमा भन्नु पर्दा सन् १९०५ फेव्रवरी २३ तारीखमा अमेरिकाको सिकागो शहर भन्ने ठाउँमा पावल ह्यारिससहित अन्य चारजना मिलेर यसको स्थापना भएको थियो । यी चारजना फरक फरक विधामा आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका थिए ।

नीहरुको उद्देश्य भने आफ्नो व्यपार व्यवसायलाई कसरी बजारीकरण गर्नका निमित्त आम जनताको स्तरोन्नति कसरी गर्न सकिन्छ भन्ने सोचका साथ खडा भएको संस्था हो । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा समेत लिने गरेका छन् ।

यो त एउटा अन्तर्राष्ट्रिय संस्था पनि हो । यसको संरचना स्थानीय स्तरसम्म कसरी निर्माण हुन्छ ?

यो अन्तर्राष्ट्रिय संस्था भएपनि यसको सदस्य बन्न कुनै दल,लिङ्ग, धर्म, संस्कृति कला जातले छेक्दैन । मात्रै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर यो समाजका लागि केही गरौ भन्ने पेशा वा व्यवसायमा आवद्घ व्यक्ति नै यसको सदस्य हुन्छ । जस्लाई हामी रोट्रियन भन्छौ । रोट्रियन भएपछि रोटरी क्लब निर्माण हुन्छ । त्यसपछि रोटरी डिष्ट्रिक अनि रोटरी जोन हुदैं रोटरी इन्टरनेशनल हुन्छ । तर यो संरचना निर्माण भइरहदा स्थानीय स्तरको रोटरी क्लब र रोटरी इन्टरनेशनलमा मात्र अध्यक्ष हुने प्रावधान छ ।

रोटरी जोन र रोटरी डिष्ट्रिकले चाँहि पुलको काम गर्छ । स्थानीय स्तरहरुका क्लबको समुहलाई संयोजन चाहि रोटरी डिष्ट्रिकले गर्छ । र, रोटरी जोनले रोटरी डिष्ट्रिकहरुको संयोजनकारी भूमिका निर्वाह गर्दछ । रोटरी डिष्ट्रिक कुनै एउटा देशसँग मात्र सिमित हुदैन । यसले संख्यात्मकरुपमा काम गर्छ । जस्तो रोटरी डिष्ट्रिक ३२९२ ले नेपाल र भुटानमा रहेका क्लबहरुको संयोजन गर्दछ । एउटा डिष्ट्रिकले दुईवटा देशको क्बलहरु हेर्न सक्दछ भने एउटा देशभित्र रोटरी क्लबहरुको संख्याको आधारमा १ वा सो भन्दा बढी डिष्ट्रिक पनि हुने गर्दछ ।

अन्तर्रािष्ट्रय स्तरमा रोटरीले के कस्ता काम गरेको छ ?

यसको इतिहास हेर्ने हो भने निक्कै राम्रा र उपलब्धिमुलक काम रोटरीले गरेको छ । अन्तर्रािष्ट्रय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण गरेर काम को थालनी गरेको थियो । विस्तारै विस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हात हाल्यो ।

सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल रहको छ ।

रोटरीको यस कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको छ । यो सँगै २०१४ मा नेपालसहित ११ देशलाई विश्व स्वास्थ्य संगठनले पोलियोमुक्त देश घोषणा गरेको छ । यसमा रोटरीको भूमिका निक्कै ठुलो छ । विश्वबाट शतप्रतिशत पोलियो उन्मुलन गर्नलाई मात्र अफगानिस्तान र पाकिस्तान बाकी छ । यी दुईदेशबाट पोलियो उन्मुलन भए लगत्तै विश्वबाट पोलियो उन्मुलन हुन्छ ।

साथै रोटरीले ६ वटा विधामा काम गर्छ । जस्लाई रोटरीले ‘सिक्स फोकस एरिया’ भन्ने गरेको छ । ती विधा अन्तर्गत विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार, तथा रोकथाम ,आमा र नवजात शिशुको स्वास्थ्य उपचार , समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा रोटरीले काम गर्ने गरेको ।

अनि यी काम गर्न आर्थिक स्रोतहरु चाँहि कहाँबाट जुटाउछ ?

-यसका लागि यो संस्थाले सन् १९१७ मा आर्च सि क्लम्म नाम गरेका रोटरियनको अगुवाइमा मात्र २६ दशमलव ५ डलर बाट कोष खडा गरेका थिए । जुन कोषलाई ११ वर्षपछि वा सन् १९२८ बाट ‘द रोटरी फाउण्डेशन’ भन्न थालियो । सो प्रतिष्ठान अहिलेसम्मकै दोस्रो सवैभन्दा ठुलो कोषको रुपमा खडा भएको छ ।

पोलियोलगायतका विभिन्न अन्तर्राष्ट्रियदेखि स्थानीयस्तरका ठुला योजनाहरु रोटरीले यसै कोषबाट सञ्चालन गर्ने गरेको छ । हालसम्म कोषमा ४ विलियम डलर भन्दा बढी छ । यो कोष संसारकै दश सर्वोत्कृष्ट कोषको रुपमा विगत केह िवर्षदेखि चिनिन्दैं आएको छ ।

नेपालमा चाँहि कति सालमा भित्रियो रोटरी ?

-नेपालमा रोटरीको इतिहासलाई पछाडी फर्केर हेर्ने हो भने सन् १९५८ नोभेम्वर २० मा भित्रिएको हो । काठमाण्डौंको कान्तिपथमा तात्कालिन राजा श्री ५ महेन्द्रबीर विक्रम शाह त्यो क्लबको पेट्रोन इन चिफ थिए । त्यसवेला तात्कालिन बडामहारानी रत्नले ५४ औँ अन्तर्राष्ट्रिय रोटरी क्लबको स्थापना दिवसका अवसरमा ५४ वटा मैनवत्ती प्रज्वलन गरी शुरुवात भएको थियो । भारतमा रहेको रोटरी क्लब अफ दरभंगाको मातहतमा रहने गरी यो क्लब गठन भएको थियो ।

रोटरी क्लब अफ काँकरभिट्टा चाँहि कहिले कसरी स्थापना भयो ?

रोटरी क्लब काँकरभिट्टा स्थापना भएको नौ वर्ष भयो । सन् २०१० मा हामी यहाँका विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेर बसेका ३१ जनाबाट क्लब स्थापना भएको हो । अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ आफ्नो आम्दानीको केही हिस्सा समाजका लागि पनि लगानी गर्नुपर्छ भन्ने ठानेर हामी फरक फरक व्यवसाय गरेर बसेकाहरु एकत्रित भएर संगठितरुपमा लागेका हौ ।

रोटरी क्लब अफ काँकरभिट्टा स्थापना हुन अघि झापामा कुनै पनि क्लबहरु थिएनन् । पूर्वी नाका काँकरभिट्टालाई हेर्ने दृष्टिकोण मानिसको अलग थियो । हरेक मानिसको नजरमा काँकरभिट्टालाई हेर्ने दृष्टिकोण खासै सकारत्मक थिएन् । वास्तवमा हामीले अब काँकरभिट्टामा बसेर यहाँको लागि केही गर्नुपर्छ र संसारले काँकरभिट्टाप्रति हेर्ने सो दृष्टिकोणलाई परिवर्तन गर्न सक्नुपर्छ भन्ने सोचले यो स्थापना गरेका थियौ । यसमा हामी विभिन्न पेशामा आवद्घ मानिसहरु उद्योगी व्यवसायी संलग्न छौ ।

रोटरी क्लब अफ काँकरभिट्टाले गर्ने काम के हो ?

रोटरी क्लब काँकरभिट्टाले गर्ने काम छुट्टै केही पनि हुदैन् तर, अहिले समाजमा जे जति काम भइरहेका छन् तीनै कामलाई रोटरी अलिकप पृथकरुपमा गर्ने गर्दछ । रोटरीको मुल्य मान्यता र यसको अनुशासन परिधीमा बसेर हामीले खासगरी यो नौ वर्षको दौरानमा शिक्षा स्वास्थ्य वातावरण पर्यावरणलगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने नै हो । अहिले सम्म यो क्लबले यस्तै क्षेत्रमा काम गरेको छ । हामीले शुरुमा पनि भने अनुसार रोटरीले ६ वटा विधामा काम गर्छ । जस्लाई रोटरीले ‘सिक्स फोकस एरिया’ भन्ने गरेको छ ।

यहाँको क्लबले गरेका कामको फेरिस्ता कस्तो छ ?

हामी प्रचारमा भन्दा काममा विश्वास गर्छौ । यहाँले सोधी हाल्नु भयो । मैले शुरुमै पनि भनेको छु शिक्षाका क्षेत्रमा धेरै काम गरेका छौ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्को विद्यालयमा हामीले जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेका छौ । मेची आधारभूत विद्यालयलाई यस क्लबले ‘एडप’ गरी हरेक योजना दिने गरेका छौ ।

सोहि अन्तर्गत क्लबले विद्यालयमा खानेपानीको व्यवस्था, कम्प्युटर प्रदान गरेको छ, श्रव्य दृश्य मार्फत पठन पाठनलाई सहज र सरल बनाउनका लागि ‘इ लर्निङ प्रोजेक्ट’ मार्फत शिक्षकहरुलाई तालिमको अवसर प्रदान गरेका छौ । सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौ ।

अब रहयो वातावरणको कुरा । नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउन विभिन्न ठाउँमा वृक्षारोपण गरेको छौ । उपचारको पहुँचबाट टाढा टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छौ । क्यान्सर जस्तो प्राणघातक रोगका बारेमा चेतना प्रदान गर्ने उद्देश्यले वार्षिकरुपमा कार्यक्रम आयोजना गरेका छौ । मलामी विश्रामालयको स्थापना गरेका छौ ।

हामीले समाजमा यी लगायत थुप्रै रचनात्मक काम गरेका छौ । हामीलाई यसवाट नाफा लिनु छैन् । कि न कि संस्था नाफामुखी नभई सेवामुखी हो । यसकारण यो संस्थाले सेवाका भावले हरेक क्षेत्रमा आफ्नो उपस्थिती जनाउँछ र काम गरेर सर्वसाधारणको मन जित्ने गरेको छ ।

तपाईहरुले जति काम गरेको भन्नुभयो पक्कै पनि आर्थिकको त आवश्यक पर्दथ्यो होला नि रु कहाँ बाट जुटाउनु हुन्थ्यो, या विदेशी दातृ निकायले आर्थिक सहयोग गर्छ ?

हामीले कुनै पनि क्षेत्रबाट आर्थिक रुपमा अहिलेसम्म सहयोग लिएका छैनौ । जे जति काम गरेका छौ सवै क्लबका सदस्यहरुबाट स्वतः स्फूतरुपमा संकलन भएको रकम खर्च गरेका छौ । मैले शुरुमा पनि भने यो क्लबमा आवद्घता भएका सदस्यहरु कुनै न कुनै पेशा र व्यवसायमा संलग्न छौ । आफ्नो व्यवसायबाट प्राप्त केही रकम हामी समाज सेवाका लागि छुट्टयाएर क्लबमा जम्मा गर्ने गर्दछौ ।

विभिन्न विधाका मानिस क्लबमा छौ । चिकित्सक, इञ्जिनियर, औषधि व्यवसायी, आइटि, व्यपारीलगायत । कतिले निःशुल्करुपमा श्रमदान पनि गर्ने गरेका छौ । ठुलठुला औषधिका कम्पनिहरुले स्वास्थ्य शिविर चलेका बेला निःशुल्क औषधि वितरण गर्ने गरेका छन् । विभिन्न विषयका विशेषज्ञ डक्टरहरु समेत क्लबको सदस्य हुनुहुन्छ । उहाँहरुले शिविरमा निःशुल्क विरामीहरुको स्वास्थ्य परीक्षण गरिदिनुहुन्छ ।

यी काम रोटरीले एक्लै गरयो वा यी काम सफलरुपमा सम्पन्न गर्न रोटरीसँग आवद्घ अरु कुनै संस्था छ ?

रोटरी परिवारमा रोटरीमात्र नभएर १२ देखि १८ वर्ष उमेर समुहका इनट्रयाक, १८ देखि ३० वर्ष उमेर समुहका रोट्रयाक र स्थानीय स्तरमा रोटरी कम्युनिटी कर्प रहने गरेको छ । जसमध्ये हामीसँग यी काम सम्पन्न गर्नका लागि उर्जाशिल युवाहरुको संगठन रोट्रयाक क्लब अफ काँकरभिट्टा छ । जस्ले यस क्लबको सम्पूर्ण कार्य सम्पन्न गर्न सहयोग गदैं आफै पनि समाजमा रचनात्मक काम गरेर अघि बढिरहेको छ । यसले अधिकाँश ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । भने स्वास्थ्य र शिक्षाका क्षेत्रमा अनेक कार्यक्रम लिएर जाने गरेको छ ।

रोटरी क्लब अफ काँकरभिट्टाको भावी योजना के छ ?

क्लबले एकवर्षभित्र के कस्ता काम गर्न भन्ने विषयमा १२ महिनाको १२ वटा शीर्षकमा काम छनौट गरेर आन्तरिक क्यालेण्डरतयार गर्छ र सोहि मुताविक काम गर्छ । यो ९ वर्षको दौरानमा यस क्लबले स्थानीयस्तरका विभिन्नक्षेत्रमा कार्य गरेपनि यसवर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परियोजनाहरु यस क्षेत्रमा रहेका स्थानीय तहलगायत अन्य संघ संस्थाहरुसँग समन्वय र सहकार्य गदैं काम गर्र्ने योजना छ ।

यसअघि गरेका सवै कामले निरन्तरता पाउने नै छन् । यसमा हामीलाई सवैको साथ सहयोगको आवश्यक छ । यहाँको विकास र समृद्घिका लागि रोटरीले उपलब्धिमुलक काम गर्ने छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई साकार पार्न रोटरी सक्रियरुपमा लाग्ने छ ।

Facebook Comments
0Shares