नेपालमै ‘पानीजहाज’ बन्दै, दुई महिनामा ‘नारायणी नदीमा चल्न थाल्ने’

114

बिबिसी, ४ साउन–चितवनका युवाहरू मिलेर ‘रिभर क्रूजशिप’ अर्थात् पानीजहाजको निर्माण गरिरहेका छन् । राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा छ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ । उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन् । “म युरोपमा भएको बेला स्वीडनबाट फिनलन्डसम्म क्रूजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने लागेको थियो,” कँडेलले भने ।

त्यही विचारलाई मूर्त रूप दिन साथीहरूसँग मिलेर पानीजहाज बनाउने काम थालेको उनले बताए। नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको को उनको दाबी छ । त्यसका लागि सिङ्गापुर, मलेशिया, चीन, जर्मनी र भारतका क्रूज निर्माता कम्पनीहरूमा गएर अवलोकन गरिएको कँडेलले बताए ।

नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि सिङ्गापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्याङ्कन एक वर्षसम्म गरेका थिए । पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ । पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी निर्माण गरिएको पानीजहाज सञ्चालनमा आएपछि त्यसले पर्यटनमा सघाउ पुर्‍याउने योजनाकारको अपेक्षा रहेको छ ।

चितवन घुम्न आउने पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पान जहाजको पनि मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको कँडेलले बताए । कँडेलले भने, “नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो ।”

दुई महिनापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट-गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको बताइएको छ । एक सय मिटर लम्बाइ र २५ मिटर चौडाइ रहेको उक्त पानीजहाजमा दुईतले हुनेछ र त्यसमा दुई सय जना अट्छन् ।

पानीजहाजमा बिहान, दिउँसो र बेलुकीको खाना तथा खाजाको व्यवस्था हुने बताइएको छ । पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाट सम्मको यात्रा पूरा गर्न तीन घण्टा लाग्नेछ । पानीजहाजको चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा बनाइएको छ ।

Facebook Comments
0Shares