मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध, ५० हजार डलर जरिवाना

34

एजेन्सी, १८ साउन–अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा तीन महिना प्रतिबन्ध लगाइएको छ । ‘कोपा अमेरिका भ्रष्ट’ रहेको भन्ने विवादित अभिव्यक्ति दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई प्रतिबन्ध लगाएको हो ।

हालै सम्पन्न कोपा अमेरिका कपमा तेस्रो भए पनि मेस्सीले भ्रष्टाचारको हिस्सेदार नबन्ने भन्दै पदक लिन अस्वीकार गरेका थिए । उनले कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेका थिए ।

सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भएको थियो । प्लेअफ खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराउँदै तेस्रो भयो । उक्त खेलमा मेस्सी ३७ औं मिनेटमै रातो कार्ड पाएर मैदान छाड्न बाध्य भएका थिए । महासंघले मेस्सीलाई ५० हजार डलर जरिवाना पनि तोकेको छ ।

बार्सिलोनाका फरवार्डसमेत रहेका ३२ वर्षीय मेस्सीलाई प्रतिबन्धविरुद्ध अपिल गर्न सात दिनको समय दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतिबन्धका कारण मेस्सीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउनेछन् ।

Facebook Comments
0Shares