बिर्तामोडमा सुन्दर र प्रथमको स्वरोजगार अभिमुखीकरण

11

बिर्तामोड, २३ साउन–बिर्तामोडका प्रथम बहुउद्देश्यीय सहकारी संस्था र सुन्दर बचत तथा ऋण सहकारी संस्थाले युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा प्राप्त कर्जा लगानी गर्न सदस्य अभिमुखीकरण गरेका छन् ।

ती संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् । कोषबाट प्राप्त गरेको रकमलाई सदस्यमाझ लगानी गर्न संस्थाले साउन २३ गते कर्जा सदुपयोगिताका बारेमा आवेदकहरुलाई अभिमुखीकरण गरेको हो ।

कोषबाट प्राप्त रकमबाट न्यूनतम ३० हजारदेखि अधिकतम् दुई लाख रुपैयाँसम्म प्रदान गर्ने गरी आवेदन लिइएको छ ।

प्रथम बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले न्यून ब्याजदरमा सहुलियत ऋण प्रदान गर्नुको उद्देश्य र विशेषताहरु कर्जा आवेदकलाई सुझाएका थिए ।

सो अवसरमा सापकोटाले स्वरोजगार कोषले अघि सारेको कार्यक्रमको सान्दर्भिकता, उपादेयता एवम् प्राप्त परिणामहरु बारे सविस्तार ब्याख्या गरेका थिए । युवाको परिभाष, साना व्यवसायीको परिभाषा, कोषको उद्देश्य, स्वरोजगारको परिभाषा एवम् कार्यक्रमहरुबारे सापकोटाले सुक्ष्म तरिकाले सहभागी सदस्यहरुलाई सहजीकरण गरेका थिए ।

सुन्दर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विष्णुकुमारी सिलवालको अध्यक्षतामा आयोजित अभिमुखीकरण उद्घाटन कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले २०६९ सालदेखि हालसम्म कोषबाट कर्जा लिएर व्यवसायिक सफलता हासिल गरेका धेरै सहकारीकर्मीको उदाहरण दिँदै उनीहरु आज स्वावलम्बी बनेको दृष्टान्त सुनाए । कोषबाट प्राप्त सहुलियत कर्जा सदस्यलाई प्रवाह गर्दा सहकारी संस्थालाई खासै फाइदा नभए पनि राज्य र सेवाग्राहीबीचको पूलको काम गर्न पाएकोमा संस्थाहरुले गौरव गर्नुपर्ने सुझाव दिए ।

पछिल्लो समय समृद्धिका लागि स्वरोजगार कोषको अभियान सफल बन्दै गएकाले यस्तो लगानीले सदस्यहरुको जीवन परिवर्तनमा मार्गदर्शन गरिरहेको जिल्ला संघका सचिव ढकालको भनाई छ ।

सो अवसरमा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले स्वरोजगार कोषको सहुलियत दरको ऋण रकम उद्देश्यमुलक कार्यमा खर्च गरी स्वरोजगार बन्नेतर्फ लक्षित हुनुपर्ने सुझाव दिए । जुन व्यवसाय गर्छु भनी फारम भरेर कार्ययोजना पेश गरिएको छ, सोही उद्देश्यमा रकम खर्च गरी स्वरोजगार बन्न पत्रकार काफ्लेले आवेदक सबैमा आग्रह गरे ।

सुन्दर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक प्रेम पोखरेलले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई प्रथम बहुउद्देश्यीय सहकारीका व्यवस्थापक फनिन्द्र बोहोराले शाब्दिक स्वागत गरेका थिए । कार्यक्रममा गोरखा साकोसका व्यवस्थापक सुरेश गौतमले पनि आफ्ना धारणा राखेका थिए ।

Facebook Comments
0Shares