गंगालाल हृदय रोग केन्द्रको निमित्त निर्देशकमा डा.लिम्बू नियुक्त

14

काठमाडौं, २६ साउन–बाँसबारी स्थित सहिद गंगालाल हृदय रोग केन्द्रको निमित्त निर्देशकमा डा. युवराज लिम्बू नियुक्त भएका छन् । निर्देशक डा जोतिन्द्र शर्माको चारवर्षे कार्यकाल शनिबार सकिएपछि अस्पतालको निमित्त निर्देशकको रुपमा डा युवराज लिम्बू नियुक्त भएका छन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालको निमित्त निर्देशकको रुपमा डा.लिम्बूलाई नियुक्त गरेका हुन्। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्मको लागि कार्यअधिकार सहित डा.लिम्बूलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।

कार्यकाल सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै डा.शर्माले चार वर्षमा भौतिक संरचना निर्माण र सेवा विस्तार गरेको बताएका छन् । आफू आउँदा अस्पतालको मासिक आम्दानी सात करोड हुने गरेकोमा अहिले १३ करोड पुगेको उनको दावी छ । फेरि निर्देशकको चारवर्षे कार्यकालका लागि अस्पतालमै कार्यरत डा रामेश कोइराला, डा. चन्द्रमणि अधिकारी र डा. युवराज लिम्बू योग्य आकांक्षी देखिएका छन्।

गंगालाल अस्पताल देशकै एक मात्र मुख्य मुटुरोग उपचार गर्ने मुख्य सरकारी अस्पताल हो । यहाँ देशभरका अस्पतालबाट पठाइएका मुटु रोगका बिरामी समेत आउने गर्छन् ।

Facebook Comments
0Shares