नागरिकता बेचेको भन्दै वडा कार्यालयमा बम विष्फोट

40

बिर्तामोड, २७ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको गतिविधिलाई निस्तेज पार्ने बताइरहेपनि ओलीकै गृह जिल्ला झापामा पछिल्लो समय विप्लव समूहको गतिविधि बढेर गएको छ ।

विप्लव समूहले बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा वम विस्फोट गराएसंगै विप्लवको गतिविधि बढेर गएको हो । यस अघि पनि विप्लवका कार्यकर्ताले एनसेलको टावरमा वम विस्फोट गराउँदै आएका थिए । सोमवार विहान मात्रै नगरपालिकाको ७, ८ र ९ नम्वरको संयुक्त वडा कार्यालयमा विहान साढे ४ वजे वम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा वम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएका छन् भने भवन समेत चर्किएको छ ।

वडा कार्यालयमा प्रेसरकुकर वम विष्फाटका कारण वडाको सम्पूर्ण काम पूर्ण रुपमा प्रभावित भएको छ । असार यता बिर्तामोड नगरपालिकाले १८ जना विदेशीलाई नागरिकता बेचेको विप्लव समूहको आरोप छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, खरदार तेजेन्द्र न्यौपाने, भद्रपुर नगरपालिका ९ का अध्यक्ष सनी राजवंशी, बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्कीलगायतको मिलोमत्तोमा विदेशीलाई नागरिकता बेचेको आरोप लगाउँदै विप्लव समूहले बिर्तामोडस्थित वडा कार्यालयमा सोमवार विहान बम विष्फोट गराएको हो ।

गत चैत २८ गतेको मन्त्रिपरिषदको वैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाएसंगै झापा प्रहरीले १७ जना विप्लवका कार्यकर्ता पक्राउ गरेको छ । तर,झापामा मात्रै विप्लवका १० हजार भन्दा बढी कार्यकता रहेको विप्लव समूहले जनाएको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विप्लवका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

विप्लव समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमक लगायतका विभिन्न स्थानमा एनसेलका टावरहरुमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

यता बिर्तामोडस्थित वडा कार्यालयमा गराएको विष्फोटाको जिम्मा कसैले नलिएपनि विप्लव समूहले नै वम विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार वडा कार्यालयमा वम विष्फोट गराउने समूहको खोजी भइरहेको छ ।

उता पूर्वी नाका काँकरभिट्टाबाट अवैधरुपमा हतियार भित्रने गरेको रहस्य खुलेको छ । नेपाल–भारतको सीमावर्ती नाका पानीटंकीमा पेस्तोल र त्यसमा लाग्ने सात राउण्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेसंगै यस्तो रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ स्थित गैरीगाँउ बस्ने ३७ वर्षीय किर्तन वतर चौधरी रहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतको पानीटंकी नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा वल एसएसवी ४१ नम्वर वटालियन रानीडाँगाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनलाई आइतबार साँझ विशेष सुराकीका आधारमा पानीटंकीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो ।

सिटी सफारी चालक रहेका चौधरी मे १ ह ६९५० नम्बरको सफारी लिएर भारत पुगेको र सोही सिटी सफारिमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

भारतीय प्रहरीले उनको साथवाट ७।६५ एमएमको सात राउण्ड गोलीसहित मेडइन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।

यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिवारी गाउँपालिका–५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

पछिल्लो समय झापामा श्रृङ्खलाबद्ध बम विष्फोट हुनु र पूर्बी नाकामा हतियार सहित नेपाली पक्राउ पर्नुले झापामा सुरक्षा चुनौति बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए ।

Facebook Comments
0Shares