मेची सहकारीको २३औं वार्षिकोत्सवमा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यको सम्बोधन

23

दमक, २८ साउन–मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा दर्जनौं सदस्यहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

२५औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गर्न तथा २३औं वार्षिकोत्सव समारोहमाझ संस्थाले उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट कर्जा कारोबारी, उत्कृष्ट कर्मचारी, रेमिट्यान्स कारोबारीलाई सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।

प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव समारोहमा शैक्षिक अभिभावकत्व साझेदार विद्यालयलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले चालू आर्थिक वर्षका लागि बनाइएको कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनलाई संक्षिप्तमा चर्चा गर्दै अध्यक्ष भट्टराईले शेयर सदस्यता र शेयर रकम बृद्धि, लामो अवधिको निक्षेपमा जोड दिने, कर्जा लगानी गर्दा उत्पादनको क्षेत्रलाई प्राथमिकता दिने, संस्थालाई आधुनिक र प्रविधिमैत्री बनाउने, सम्पत्ती शुद्धिकरण नीतिलाई अवलम्बन गर्ने जस्ता योजनाहरु अघि सारेका छन् ।

वार्षिकोत्सव समारोहमा सकारात्मक सोच कोषका अभियानकर्ता, पर्यटन उद्यमी कर्ण शाक्यले जीवनोपयोगी सन्देश सुनाएका थिए । शाक्यलाई विशिष्ट अतिथि बनाएर सम्पन्न कार्यक्रममा उनले नेपालका मान्छे धनी भएका तर देश गरिव भएको निश्कर्ष निकालेर यसैको मन्थनमा लागिरहेको सुनाए ।

देश राजा, प्रधानमन्त्री, मन्त्री वा सचिवले विगारेका होइनन्, हामी जनताले नै बिगारेको निश्कर्ष निकालेका शाक्यले अरुलाई बिगार्न र सफल हुन नदिने खुट्टा तान्ने हाम्रो प्रवृत्तिका कारण देश उँभो नलागेको जिकिर गरे ।

सो कार्यक्रममा प्रमुख अतिथि राई, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, कृषि सहकारी संघ केन्द्रीय समितिका उपाध्यक्ष मीना ढकाललगायतले आफ्ना धारणा राखेका थिए ।

Facebook Comments
0Shares