एमबाप्पे सर्वाधिक मूल्यवान फुटबलर, मेस्सी चौथो स्थानमा

47

एजेन्सी, ३२ साउन– फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे विश्वकै सबैभन्दा महँगा फुटबलर बनेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट व्यवसायिक फुटबल खेलिरहेका उनी यो वर्ष विश्वकै महँगा फुटबलर बनेका हुन् ।

सीआईइएस फुटबल अब्जरभेटरीको सूची अनुसार मूल्यवान खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा रहँदा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन् स्ट्राइकर लियोनेल मेस्सी चौथो स्थानमा रहेका छन् । एमबाप्पेपछि सर्वाधिक महँगा खेलाडीमा लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ रहेका छन् ।

फुटबल अब्जरभेटरीका अनुसार एमबाप्पेको मूल्य २३० मिलियन पाउण्ड छ । दोस्रो स्थानका सलाहको मूल्य २०० मिलियन पाउण्ड छ भने स्ट्रलिङको मूल्य १९० मिलियन पाउण्ड छ । यो सूचीमा चौथो स्थानका बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १५३ मिलियन पाउण्ड छ । बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर जाडोन सान्चो १४५ मिलियन पाउण्डसहित पाँचौं स्थानमा छन् ।

लिभरपुलका साडियो माने १४४ मिलियनसहित छैटौं, टोटेनहमका ह्यारी केन १४३ मिलियनसहित सातौं, लिभरपुलकै रोबर्टो फर्मिन्हो १३२ मिलियनसहित आठौं स्थानमा छन् । त्यसैगरि बार्सिलोनाका फ्रान्सेली एन्टोइन ग्रिजम्यान १३१ मिलियनसहित नवौं र म्यानचेस्टर सिटीका लोरी साने १२५ मिलियनसहित दशौं स्थानमा छन् ।

यो सूचीमा पीएसजीकै ब्राजिलियन स्ट्राइकर नेइमार र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० अटाउन असफल भएका छन् ।

Facebook Comments
0Shares