फौजी किराले मकै नष्ट

43

सिन्धुली, १५ भदौं–सिन्धुलीको विभिन्न ठाउँङ्गा अमेरिकन फौजी किराले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन् । सुनकोसी, फिक्कल र गोलन्जोर गाउँपालिकाको विभिन्न क्षेत्रका सयौं रोपनीको मकै बाली नष्ट गरेको छ ।

जिल्लामै बढी मकै उत्पादन हुने सुनकोसीको दुम्जा, झाँगाझोली, शीतलपाटी, नाङगेडाँडा, परेवाडाँडा, कालीमाटी, मैनापुर, रामटार, थुम्कालगायतका क्षेत्रमा लगाएको मकै खाएर नष्ट गरेको सुनकोसी गाउपालिका–५ नाङगेडाडाँका प्रमोद दाहालले जानकारी दिए ।

लामो समयसम्मको खडेरीका कारण साउनको पहिलो सातातिर छरिएका मकै गोड्ने बेलामा फौजी किराले खान थालेपछि किसानहरु चिन्तित छन् । ‘साउन लागेपछि छरिएका मकै फल्ने आशा थियो,’ नागेडाँडाकी सरस्वती दाहाल भनिन्, ‘किराले मकैको गुवानै खाएर सखाप पारिदियो ।’ त्यस क्षेत्रमा दिनदिनै किराको प्रकोप बढ्न थालेपछि करिब एक साताअघि नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत किट विज्ञान महाशाखाका वैज्ञानिकहरुको टोलीले स्थलगत अनुगमन गरेका थिए ।

फौजी किरा नियन्त्रणका लागि जथाभावी बिषादी प्रयोग नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन्। फौजी किराले मुख्यतः मकै मन पराउने र मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखु, घाँसेबाली, बन्दाकोपी, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेत क्षति पुर्‍याउने किट विज्ञान महाशाखाले जनाएको छ ।

यस किरा बालीनालीका लागि अहिलेसम्मकै सबैभन्दा खतरनाक भएको विज्ञहरु बताउँछन् । यो किराले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लाका मकै बालीमा क्षति पुर्‍याएको छ ।

Facebook Comments
0Shares