हुण्डी कारोबारमा पक्राउमध्ये ६ जना कारागार चलान

45

पर्सा, २५ भदौं–अवैध हुण्डी कारोवारको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका आठजनामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । दुईजनालाई भने पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाडेको छ ।

पर्सा प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानपछि एक अर्ब २८ करोड ४३ लाख ३९ हजार ७२३ रुपैयाँको विगो दाबी गर्दै पर्सा जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । अवैध वित्तीय कारोबार (हुण्डी तथा संगठित अपराध) गरेको भनी पर्सा जिल्ला अदालतमा दर्ता भएको ०४६–सी २०००५ को मुद्दामा ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासबाट आदेश भएअनुसार सूर्यबहादुर गदाल र राजकपुर साहलाई भने साधारण तारेकमा छोड्न भनिएको जिल्ला अदालत पर्साले जनाएको छ ।

मुख्य अभियुक्त अझै फरार भारत बिहार मोतीहारी जिल्ला पूर्वी चम्पारणका सुनिलकुमार प्रसाद, मोतीहारी, नैनपुरका गुलाव साहसहित नेपालका चन्दनकुमार सर्राफ, राकेशकुमार सिंह, सुजितकुमार साह र घनश्याम सर्राफलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको जिल्ला अदालत पर्साका सूचना अधिकारी भोलानाथ धमलाले बताए । मुख्य अभियुक्त भनिएका वीरगन्ज–६ माईस्थानचोक छेउको केपी स्वर्ण कला केन्द्र (सुनचाँदी पलस) सञ्चालन गर्ने कन्हैयाप्रसाद सोनार भने फरार छन् । कन्हैयाकै पसलमा गत असार ९ मा पर्सा प्रहरीले अवैध वित्तीय कारोवार भएको आशंकामा छापामारी गरी त्यहाँ संलग्न भएको आशंकामा आठजनालाई त्यही दिन पक्राउ गरेको थियो ।

पसल सञ्चालक कन्हैयाप्रसाद भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए । गत असार ९ मा प्रहरीले छापामार कन्हैयाका पसलबाट ४१ लाख ९२ हजार ९०० रुपैयाँ र २ किलो ९० ग्राम चाँदी पनि बरामद गरेको थियो ।

Facebook Comments
0Shares