क्यान्सर पीडित परियारलाई १२ लाख सहयोग

23

पर्वत, २५ भदौं–क्यान्सरको उपचार गराइरहेका पर्वतको कुस्मा नगरपालिकाका–३१ वर्षीय मीनहादुर परियार खड्कालाई पत्रकारको पहलमा करिब १२ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । परियारको काठमाडौंको ग्राण्डी अस्पतालपछि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदा झन्डै ५५ लाख रुपैयाँभन्दा बढी खर्च भइसेकेको परिवारले जनाएको छ ।

पत्रकार रामकृष्ण लामिछानेको पहलमा सुरु गरिएको आर्थिक संकलन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपाली तथा गैरनेपालीहरूबाट संलन भएको ११ लाख ७४ हजार रुपैयाँ परियारको परिवारल प्रदान गरिएको छ । रकमको चेक नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेतृ राधाकुमारी कुँवर क्षेत्री, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र पत्रकार लामिछानेले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर रहेको र खड्काको उपचारमा ठूलो रकम खर्च भएपछि उनको उपचारमा नै समस्या उत्पन्न भएको खड्काकी श्रीमती हिना परियारले बताइन् । एउटै किमो चढाउँदा नेपाली आठ लाख रुपैयाँसम्म खर्च हुने गरेको र अझै पनि लामो उपचार आवश्यक रहेको उनले जानकारी दिइन् । ‘सुरु सुरुमा नेपाली ४० हजार रुपैयाँ जतिको किमो चढाइएको थियो, पछिल्लो पटक त एउटैको मूल्य नेपाली आठ लाख रुपैयाँसम्म परेको छ,’ उनले भनिन्, ‘घरको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको बेलामा पत्रकार लामिछानेले गर्नुभएको पहलले ठूलो राहत मिलेको छ ।’

मंगलवार नै परियारको परिवारलाई साउदी अरेबियामा कार्यरत रामबहादुर खवासको नेतृत्वमा संकलन गरिएको ८५ हजार ६०५ रुपैयाँ पनि हस्तान्तरण गरिएको छ । कुस्मा नगरपालिका–२ खुर्कोट घर भई साउदीमा रहेका खवासले अन्य नेपालीहरूसँग सहयोग संलन गरेर पठाएका हुन् । उक्त रकम श्रीमती गीता खवासमार्पmत मीनबहादुरको परिवारलाई प्रदान गरिएको हो। खड्काको उपचारमा सघाउन हालसम्म झन्डै १८ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

Facebook Comments
0Shares