मुन्धुमको माया किन ?

75
– बैरागी काइँला

–बैरागी काइँला
मुन्धुमप्रति मेरो चासो आरम्भमा साहित्यकारको हैसियतमा बढ्यो  । बढ्दै जाँदा निकैपछि मात्र मैले मुन्धुमभित्रको लिम्बू जीवनदर्शनलाई हेर्न थालेको भन्दा हुन्छ । तर अझै पनि मलाई के लाग्छ भने मुन्धुमप्रतिको मेरो झुकाउ मानवशास्त्र तथा समाजशास्त्रझैँ ज्ञानका अनुशासनमा आधारित नभएर मुन्धुमभित्रको सुन्दर र प्रभावशाली काव्यात्मकताले वशीभूत भएर तथा लोपोन्मुख मुन्धुमको संरक्षण र संवर्द्धनका हेतुले हो । यिनै कुराले मैले आफ्नो जीवनका महत्त्वपूर्ण वर्षहरू मुन्धुमको संकलन, सम्पादन र नेपाली भाषामा अनुवाद गर्नमा खर्च गरेको छु ।

०१२ सालमा लन्डन युनिभर्सिटीको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक आरके स्प्रिग तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बीएच हज्सनले संगृहीत गराएका (१८६४ तिर) लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृति, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखित पाण्डुलिपिको छायाप्रति लिएर नेपाल आउँदा पाँचथर, सारतापस्थित हाम्रै घरमा महिना दिनजति श्रीमतीसहित बसेका थिए । उनीहरूलाई भेटे पनि लिम्बू लिपि र भाषाबाहेक मुन्धुमको मूल विषयमा मेरो रुचि नबढेको अवस्था रहेछ, उसबेला ।

इमानसिंह चेम्जोङले संकलन, सम्पादन र अनुवाद गरेका किराँत मुन्धुम ९किराँतको वेद, विसं २०१८० पुस्तक प्रकाशित भएर पढ्न पाएपछि लिम्बू भाषा, लिपि, साहित्य, संस्कृति र इतिहासका खोजीमा र संवर्द्धनमा लागेका ऋषितुल्य चेम्जोङबाट उत्प्रेरित भएर लागेको हुँ भन्दा अतिशयोक्ति हुँदैन ।

लिम्बू दैनिक जीवनमा मुन्धुम र अनुष्ठान

हामी लिम्बू जातिले घरमा पालेका सुँगुर वा कुखुरा खान परे फेदाङमा बोलाएर पूजा गरेपछि मात्र बलि दिएर खान्छौँ । उँधौली उँभौलीका छेकामा वर्षमा घटीमा एकपटक शिर उठाउने पूजा (मांगेन्ना) पनि गर्छौं । घरमा कुनै छोरीबुहारी दुई जीउकी भएमा दुःखकष्टबिना जायजन्म होस् भनेर कोखपूजा गर्छौं । तीन वर्षमा एकपटक कुलदेवताको पूजा भव्यताका साथ गर्छौं । त्यसरी नै पुर्खाहरूसँगको सायुज्य मिलनका लागि तीन वर्षमा एकपटक तङिसङ मुन्धुमको वाचन र अनुष्ठान पनि भव्यताका साथ गर्छौं ।

सुभ्यफाप्यका लागि घरभित्रका मंगलकारी देवीदेवताहरू (थेबा साम्माङ, नाहाङ्मा तथा दुङ्दुंगेतथा युमा साम्माङ) को नियमित पूजा र अनुष्ठान तथा नराम्रा वनका अनिष्टकारी देवीदेवताहरूका कोपभाजनबाट मुक्त रहनका लागि तिनलाई मन्साउने पूजाहरू गरिरहन्छौँ । एकै कुलवंशका लिम्बू परिवार मिलेर वर्षमा एकपटक घरबाट सुरु गरेर खोलासम्म पुगी आपसी वैरभाव र द्वेषजन्य व्यवहार सदाका लागि हटाउन गालीसराप बगाउने पूजा सामाजिक सद्भावको उत्सवका रूपमा गर्छौं । खेतीपातीमा आधारित जीवनयापन गर्न थालेका लिम्बू पुर्खाहरूले उहिलेदेखि गरिल्याएका ऋतुअनुसारका उँधौलीका अवसरमा चासोक (खेती उठाउने बेला, न्वाँगी पूजा) र उँभौलीका बेला यकवा (खेती लाउने बेला, धूलपूजा) पूजाहरू गरिल्याएका छौँ ।

माथि वर्णित यामअनुसारका तथा अन्य विविध पूजाअनुष्ठान गर्दाका बेला वाचन गरिने मौखिक पाठ, तिनका विषयवस्तु र अनुष्ठानका विधि अलग–अलग हुन्छन् । हाम्रा फेदाङ्माले पूजा गर्दा कण्ठाग्र फलाकेका वा गाएर ल्याएका विविध मुन्धुमको मौखिक पाठभित्र पाइने विविधता, भाषा, विम्ब, प्रतीक र तिनमा विद्यमान काव्यात्मक साहित्यबाट म वशीभूत भएको छु ।

मुन्धुम शब्द र अनेक अर्थहरू

दैनिक व्यवहारमा मुन्धुम शब्दलाई कथा, कुथुङ्ग्री, आख्यान, मिथक, पुराण, गाथा तथा शास्त्र बुझाउने अर्थमा प्रयोग गरिएको पाइन्छ । सामान्यतः सांस्कृतिक मूल्य र मान्यता मात्र नभएर उच्च धार्मिक महत्त्व पनि हुनाले मुन्धुम शब्दलाई विशेष गरेर श्रुति परम्परागत शास्त्रको अर्थमा लिइन्छ ।

मुन्धुम र मिथक

मुन्धुमलाई मिथक (कल्पनामा आधारित) पनि भनिन्छ । लोकवार्ताविद्हरूका अनुसार मिथक सुदूर अतीतमा भएका घटनावलीको विवरण हो । समय, तिथिमिति आज हाम्रा स्मरणमा नरहे तापनि ती घटनाहरू यथार्थ थिए भन्ने मानिन्छ । यसरी मिथकलाई मिथ्या भनेर अविश्वास गरिए पनि हामीले हाम्रा ती सुदूर अतीतमा भएका घटनावलीलाई तीभित्र निहित व्यञ्जना र लाक्षणिक अर्थहरूका आधारमा विश्वास गरिआएका छौँ ।

श्रुतिपरम्परा कि श्रुतिशास्त्र

प्राचीन समयदेखि गुरुपरम्पराले पुस्तान्तरण भइआएकाले मुन्धुमलाई लोकवार्ताविद्हरू श्रुतिपरम्परा भन्छन् । मुखमुखै भनिँदै आएकाले मुन्धुमलाई चलनचल्तीको भाषामा थुत्थुरे (थुतुनो मात्र चलाएर पाठ गरिने) शास्त्र भन्ने लोकोक्ति प्रचलित छ । लिम्बू जातीय पुरोहितहरू (फेदाङ्मा, साम्बा, येबा, येमाहरू) ले मुन्धुम मुखमुखै भनेर आजसम्म नै ल्याएका छन् । लिम्बू भाषामा मौखिक रूपमा भनिने थुत्थुरे मुन्धुमलाइथुङ्साप मुन्धुम ९मौखिक शास्त्र० भनिन्छ ।

ब्रह्माण्डको उत्पत्तिदेखि चराचर जगत्को सृष्टिको विकासक्रममा मान्छेको सृष्टिपछि मानव कुल, वंश र परिवारको विकाससँगै मानव बसाइँ सराइ वा स्थान परिवर्तनका साथै मानव समाजको उत्थान र पतनको विवरण विविध गाथा, किंवदन्तीमा जीवित राखेर विगतका गौरव सम्झाउने श्रुति परम्पराका रूपमा जीवित मुन्धुमको पाठ प्राचीन र अलिखित इतिहास पनि हो ।

मुन्धुमको संरचना र काव्यात्मक तत्त्व

मुन्धुमको आफ्नै प्रकारको संरचनाको शैली छ । यसमा वर्णित आख्यानको विकास क्रमबद्ध र विशद रूपमा अर्थात् क्रमविकासको सिद्धान्तमा विकसित भएको भान हुन्छ । सुदूर अतीतदेखि श्रुतिपरम्परामा जीवित मुन्धुम गेयात्मक वा पद्यात्मक हुन्छ । मुन्धुमभित्र वर्णित सृष्टिको कथा, मान्छेको उत्थान र पतनका आख्यान (मिथक), कल्याणकारी र अनिष्टकारी पारलौकिक शक्ति (देवीदेवता, भूतप्रेतादि) हरूको आख्यान गायन र वाचन गर्ने अलगअलग परिपाटी, शैली, छन्द र लय हुन्छन् ।

गायन गरिने मुन्धुममा विषयवस्तु तथा प्रसंगअनुसार उठानदेखि बैठानसम्म भिन्न–भिन्न शैली र छन्द प्रयोग हुन्छन् । अर्थलाई गम्भीरता दिनु र मिठास प्रदान गर्नु गायनवाचनको बीचबीचमा पदहरूको उचित पुनरावृत्ति, अलंकार र उपमाको सार्थक प्रयोगले मुन्धुमलाई उच्चकोटीको काव्य साहित्य बनाएको छ ।

त्यति मात्र नभएर प्रसंग र विषयअनुसार कतै हास्यरसले पूर्ण अभिनयसहित गद्यात्मक शैली, कतै काव्यात्मक संवादको शैली, कतै सुन्दर अभिनयसहितको नृत्य, गायन र वाचनले युक्त मुन्धुमी साहित्य लोकनाटकीय तत्त्वले भरिपूर्ण हुन्छ ।

मुन्धुम र प्रकृतिसँगको घनिष्ठता

लिम्बूका पुर्खाको प्रकृति र वातावरणसँगको तादात्म्य र घनिष्ठता मुन्धुमले देखाउँछ । मानव पुर्खाहरूको विभिन्न दिशामा बसाइँ सराइका क्रममा तिनले पार गरेका मार्गका चित्र, चर्चेका र भोगेका भूमिको भौगोलिक प्रकृति आदिको मनोरम विवरण मुन्धुममा गरिन्छ । मानव जातिले आर्जेको वनजंगल, पशुपन्छी, वनस्पति, फलफूल, कन्दमूलसम्बन्धी अद्भुत ज्ञानको विवरणले भरिएको हुन्छ मुन्धुम ।

मानवको उत्तरजीवन (सर्वाइवल) का लागि वनस्पति, जलचर, कीटपतंग, पशुपन्छी र वातावरण महत्त्वपूर्ण हुन्छन् । तिनका मानवमैत्री र मानवविरोधी स्वभाव, विशेषता, सीप र गुणहरूबारे मानवजातिले आफ्नो ‘सर्वाइवल’ का लागि आर्जेको अत्यन्त उपयोगी अनुभवजन्य ज्ञानको सारसंग्रह मुन्धुममा पाइन्छ ।

मानिसको दुःखान्त र मुक्तिको युक्ति

मुन्धुमअनुसार सृष्टिको क्रम विकासको अन्तिम कडी मानिसको सृष्टि हो । तर मानिस नश्वर चोलाको हुन पुगेको दुःखद घटनापछि मानिसलई धरती नामको विशेष स्थितिमा एक्लो छोडेर असन्तुष्ट सृष्टिकर्ता (ईश्वर) स्वयम् कालको चक्र (इनुनु इमिलुङ् इनुनु इलुङ्सुम् ) मा अदृश्य हुन बाध्य भयो । त्यसपछि केही नजान्ने (थेमेन्निमा सा), केही नदेख्ने (थेमेन्धा सा) र नबुझ्ने (थेमेल्ले सा) असहाय भएको एक्लो मानिसका लागि सृष्टिकर्ता ईश्वर अज्ञात, जानेर नजानिने (मेन्निमाङ) र आँखाले देख्न नसकिने (मेन्धामाङ) सत्ता भयो । मानव हुनुको दुःखान्त यहीँबाट सुरु भयो ।

मानव जीवनको त्रासदी

यसरी आइलागेको त्रासदीको चपेटामा मानिसले अनेक आरोह–अवरोह बेहोर्नुपरेको छ । अज्ञानता र प्राकृतिक विपद्सँगसँगै मानवसमाज, जाति, कुलवंश र पारिवारिक सम्बन्धको उद्भव र विकासक्रममा भएका समीकरणमा फेरबदलले ‘सर्वाइबल’ का लागि मान्छेले गरेको प्रयत्न र संघर्षको क्रममा पारिवारिक र सामाजिक अस्वस्थ प्रतिद्वन्द्विता, आँखी, डाह, ईर्ष्या, लोभलालच, व्यभिचार, रिस र क्रोधजस्ता भावनाले समाज, कुलवंश तथा परिवार असुरक्षित र अशान्त भयो । नकारात्मक गुणहरूको समुद्रमा आकण्ठ डुब्न पुग्यो मानवजीवन । तर अब यी सबै मानिसको आफ्नै कर्मका फल हुनाले यसका लागि उत्तरदायी मानिस नै हुने भयो ।

मानवको अस्तित्वमा आइलागेको त्रासद् संकटहरूबाट मानव अस्तित्व सुरक्षित राख्न मान्छे आफैंले प्रयत्न गर्नुपर्ने भयो । संकटहरूबाट उन्मुक्तिको उपायको खोजीमा मान्छेले पाएको मार्ग भनेको सकारात्मक मूल्य र मान्यतामा आधारित सदाचारको समष्टि ज्ञानको संग्रह मुन्धुमको निर्माण भयो । त्यति मात्र नभएर ईश्वर तथा जीवन र जगत्सँग सम्बन्धित रहस्यबारेमा मान्छेको कौतूहलपूर्ण जिज्ञासाबाट जन्मेका कठिनतर प्रश्नहरूका उत्तरको खोजीमा आदिमकालदेखि लिम्बू जातिले मार्गदर्शन बनाएर ल्याएको आस्था र विश्वासहरूको प्रणाली र जीवनदर्शन नै मुन्धुम हो ।

मुन्धुममा चोत्लुङ वा मोक्ष

मुन्धुमअनुसार ईश्वर स्वयंले पनि टार्न नसकेको जीवनको सत्य भनेको कालको चक्र ९इनुनु इलुङ्सुम० अथवा मृत्यु हो । तर मृत्युलाई असल कर्मले पराजित गर्न सक्छन् । मान्छेको जीवनमा आइलागेको यही दुःखान्त वा त्रासदी ९ट्रेजेडी० जस्तो संकटबाट मुक्त भएर मान्छे हुनुको गौरव र अर्थ बचाउन असल कर्मको दिशामा उसको प्रयत्नको आख्यान नै आजको मान्छेको यथार्थ हो ।

सत् छ सुन्दरै, सुन्दरै छ सत्

सृष्टिको प्रारम्भ गर्दाकै क्षणदेखि ईश्वरले सृष्टिको परिपूर्णता नै सुन्दरता हो भनेर भाव व्यक्त गरेका छन् । केही नभएको महाशून्यबाट सृष्टिकार्य जारी गरिरहँदा ‘सृष्टि सुहाएन नि, सुहाएन नि । राम्रो देखिएन नि, राम्रो देखिएन नि’ भन्दै ईश्वर स्वयं विरह र वेदनाले व्याकुल भएको वर्णन लिम्बू मुन्धुममा मात्र पाइन्छ ।

मान्छेको सृष्टिपछि सृष्टिकार्यले पूर्णता पाएर सुन्दर देखिएको अनुभूतिले ईश्वर सन्तुष्ट भए । हुन पनि अपूर्णता सधैँ असुन्दर हुन्छ र परिपूर्णता सदा सुन्दर हुन्छ । त्यसैले सम्पूर्ण हुन सकेको सृष्टि स्थिति मात्र सुन्दर हुनाले सत्य पनि हुन्छ । अर्को शब्दमा सुन्दर नै पूर्ण हो र सत्य हो । हुन पनि कविहरू (जोन किट्स, महाकवि लक्ष्मीप्रसाद देवकोटा) का अनुसार ‘सत् छ सुन्दरै, सुन्दरै छ सत्’ ।

मुन्धुम र अमूर्त सम्पदा

मानव उत्तरजीवनका लागि हाम्रा पुर्खाहरूले अलौकिक, आधिदैविक शक्ति र प्राकृतिक प्रतिकूलतासँग गरेका संघर्ष, तिनका शूरवीरता र मानवोचित कर्तव्याकर्तव्यका गाथा, देवी–देवताका प्रकल्पना र धार्मिक आस्थाका मिथकहरू, इतिहासको जन्मभन्दा सुदूर अतीतमा भएका घटनाका श्रुति परम्परागत दस्तावेज, पुर्खाले आर्जेको ज्ञानले समृद्ध मुन्धुमको अमूर्त सम्पदाका रूपमा ठूलो महत्त्व छ ।

लिम्बू जातिको साझा जातीय अनुभवजन्य ज्ञानको पुञ्ज श्रुतिपरम्परागत मुन्धुम हो । मानिस ९लिम्बू० जातिले समयक्रममा सभ्यता र संस्कृतिको क्षेत्रमा उपलब्ध गरेका उच्चतम उपलब्धिहरू श्रुतिपरम्परा वा मुन्धुमभित्रका लोककथा, लोकगीत, मिथक र तिनले व्यवस्थित र निर्देशित गरेको थिति, नीति र चालचलनजस्ता धार्मिक, आध्यात्मिक र नैतिक मूल्यमान्यता र जीवनदर्शन हाम्रा सांस्कृतिक सम्पदा हुन् ।

मानिसले अन्तरमनबाट कलह, झगडा, युद्ध र विनाश निम्त्याउने रिस र इबी, आँखी र डाह, लोभ र लालच अनि छलकपटजस्ता मानवताविरोधी गुणहरूको समूल विनाश गर्नुपर्छ । हाम्रा विश्वास र आस्थाहरू मात्र असल भएर हुँदैन, व्यावहारिक जीवनमा तिनको पालना हुनुपर्छ । सम्पूर्ण स्थावर र जंगम, वनस्पति, पशुपन्छी र मानिसको सृष्टिपछि मात्र परिपूर्ण भएर सुन्दर हुन सकेको हो, यो पृथ्वी । यो जगत् मानिसको मात्र पेवा सम्पत्ति होइन । पृथ्वी सम्पूर्ण चराचर जगत् र प्रकृतिकै साझा सम्पत्ति हो ।

सबैको उत्तरजीवन सर्वाइवल भनेको नै मानिसको उत्तरजीवन (सर्वाइवल) हो । त्यसैले पृथ्वीको वातावरण र प्रकृतिको संरक्षण मानिसको उत्तरजीवनका लागि अनिवार्य सर्त हुन्छ । सुन्दर र परिपूर्ण संसारको निर्माणका लागि मानिसले जुनी पाएको हो भन्ने हाम्रा पुर्खाहरूको सामूहिक अनुभवजन्य ज्ञान नै हाम्रो जीवनदर्शन हो । मुन्धुमबाट हामीले पाएको यही ज्ञानलाई मानिसलगायत यो जगत‌्को भलाइका लागि उपयोग गरौँ । यसरी हामी चोतलुङ सिद्धिस्थलको आरोहणमा सफलता पाएर पुर्खाहरूसँग सायुज्यमा पुग्दछौँ ।

अन्तमा,

एक व्यक्तिले देखेको बुझेको संसार र सामूहिक रूपमा बुझिएको संसारमा विराट् अन्तर हुन्छ । सुदूर अतीतदेखिका हाम्रा मानव पुर्खाका सामूहिक अनुभव र ज्ञानको सारसंग्रह मुन्धुम आजको एकजना स्रष्टाव्यक्तिको काव्य सृजना–कर्मभन्दा महान् हुन्छ । साझा अनुभव र बुझाइले आर्जित सामूहिक ज्ञान नै मुन्धुम हुनाले लिम्बू समुदायलाई यसले एकापसमा बलियोसँग आबद्ध राखेको छ ।

आधुनिक समयमा शिक्षा, विज्ञान, प्रविधि, बसाइँसराइ, मिश्रित बसोबास, आधुनिकता र भूमण्डलीकरणको निरन्तर आक्रमणले अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको सामूहिक बुझाइ र ज्ञानको स्रोत मुन्धुम संकटग्रस्त छ ।

(जगदम्बाश्री पुरस्कार ग्रहण गर्दै वैरागी काँइलाद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश)
नयाँ पेजबाट साभार

Facebook Comments
0Shares