हरियो साग पालुंगो र यसको प्रयोग, महत्व अनि स्वास्थ्यमा फाइदै-फाइदा

24
हरियो साग पालुंगो

झापा, ९ असोज–हरियो सागमध्ये पालुंगो सबैभन्दा तागतिलो हुन्छ भनिन्छ । यो साग खाँदा पनि हामी यस्तै सोचिरहेका हुन्छौँ । पालुंगोको तरकारी, सुपसहित थुप्रै परिकार बनाउन सकिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, के, सी, म्याग्नेसियम, आइरन र म्यागनिज हुन्छ । क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, फाइबर र खनिज पनिपाइन्छ यसमा ।

विभिन्न अध्ययनअनुसार, रक्तचापलाई ठाउँमा राख्न, आँखाको ज्योति बढाउन र अक्सिडेटिभ तनाव कम गर्न पालुंगोको सेवन उपयुक्त हुन्छ । रक्तअल्पताको समस्या भएकाहरूले त झन् पालुंगो खानु अति राम्रो मानिन्छ । यसमा पर्याप्त मात्रामा आइरन हुने भएकोले यो नियमित खाँदा रगतको कमी हुन पाउँदैन ।

यसमा भएको आइरन पनि हाम्रो शरीरले सहजै सोस्ने खालको हुन्छ । गर्भवती महिलालाई प्रायस् फोलिक एसिडको कमी हुने गर्छ । यो कमी हटाउन पालुंगो खानु फाइदाजनक हुन्छ । पालुंगोले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसको नियमित सेवन गरे बिरामी परिँदैन, शरीरमा संक्रमणको जोखिम पनि कम हुन्छ ।

पालुंगोले हाड बलियो बनाउँछ । यसमा दूधपछि पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । त्यही भएर यसको सेवनले हाड दह्रो हुने गर्छ । यसमा पाइने क्याल्सियम बढ्दा बालबालिका, बूढापाका, गर्भवती र स्तनपान गराउने आमाहरूका लागि निकै लाभदायक मानिन्छ । पालुंगो खानाले स्तनपान गराउने आमामा दूधको उत्पादनसमेत बढ्छ ।

पालुंगोमा धेरै मात्रामा म्याग्नेसियम नामक पोषकतत्त्व हुन्छ । म्याग्नेसियमले हाम्रा शरीरमा ऊर्जा दिन्छ । यसैले यसको सेवन हतपती थकाइको अनुभव हुँदैन ।

पालुंगोको सेवनले मांसपेशीलाई बलियो बनाउँछ । यसमा भएको इनअर्गेनिक नाइट्रेट मांसपेशीलाई बलियो बनाउने गरेको हो । यसमा भएको फ्लेबोनोइडले एन्टिअक्सिडेन्टको काम गर्छ । यो तत्त्वले रोगप्रतिरोधक क्षमता बढाउँछ, मुटुसम्बन्धी रोगसँग लड्न सघाउँछ ।

यसमा पाइने बिटा क्यारोटिन र भिटामिन सीले शक्तिक्षय हुनबाट जोगाउँछ । यसको सेवनले पाचनतन्त्र बलियो हुन्छ, भोकसमेत बढाउँछ ।

पालुंगो भिटामिन ‘ए’को राम्रा स्रोत हो । यो भिटामिन आँखाको ज्योति बढाउन निकै उपयोगी हुन्छ । हामीले आँखाको ज्योति बढाउन गाँजर खाने गरेका छौं, तर गाँजरबाहेक पालुंगोमा समेत पर्याप्त मात्रामा भिटामिन ‘ए’ हुन्छ । त्यसैले पालुंगो नियमित रूपमा खान सके आँखाको ज्योति बढ्दै जान्छ ।

पालुंगो कपालका लागि समेत फाइदाजनक मानिन्छ । कपाल झर्ने समस्या भएका व्यक्तिले नियमितजसो पालुंगो खाने गर्दा त्यसबाट मुक्ति पाइन्छ । शरीरमा आइरनको कमी भयो भने कपाल झर्ने हो, पालुंगोमा आइरन पर्याप्त मात्रामा पाइन्छ ।

पालुंगोको सेवनले छाला रुखो हुनबाट जोगिन्छ । अनुहारको डन्डिफोर, कालो पोतो हट्दै जान्छ । यो सागलाई शारीरिक तौल घटाउनसमेत उपयोगी मान्ने गरिएको छ । यसमा क्यालोरी र फ्याट धेरै कम हुन्छ भने फाइबर रेसा चाहिँ धेरै मात्रामा हुन्छ । यसैले तौल कम गर्न पालुंगो खानु उचित मानिन्छ ।

–रक्तचापलाई ठाउँमा राख्न
–आँखाको ज्योति बढाउन
–रक्तअल्पता हुन नदिन
–गर्भवती महिलामा फोलिक एसिडको कमी हुन नदिन
–रोगप्रतिरोधी प्रणाली बलियो बनाउन
–हाड दरिलो पार्न
–पाचनतन्त्र बलियो बनाउन
–कपाल झर्न नदिन
–छाला चम्काउन
–डन्डिफोर, कालो पोतो हटाउन
–शारीरिक तौल घटाउन

Facebook Comments
0Shares