लघु उद्यमशीलताका लागि ‘लघुवित्त’ र ‘उघुबीमा’ महत्वपूर्ण

25

काठमाण्डौं, १६ असोज–मुलुकको समग्र आर्थिक वृद्धिका लागि सहरी मात्रै नभएर ग्रामीण अर्थतन्त्रको विकास पनि आवश्यक छ । सेवा सुविधाहरु विस्तार गर्दा धनी वर्गलाई मात्र नभएर ग्रामीण भेगमा बसोबास गर्ने विपन्न वर्गका लागि पनि लक्षित हुनुपर्छ । लघुवित्त र लघुबीमा यसै गरी ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने काम गरेका छन् ।

न्युनतम आय हुने वर्गका लागि लक्षित गरेर लघुवित्तको सुरुवात गरिएको थियो । विशेषगरी ग्रामीण भेगमा मानिसहरुसँग कुनै व्यवसायमा लगानी गर्ने गरी धेरै मात्रामा पैसा नहुने र भएको पैसा लगानी गर्ने आइडिया पनि कम हुने हुन्छ । यस कार्यमा सहयोग पुर्याई ग्रामीण क्षेत्रका जनतालाई उद्यम गर्नका लागि वित्तीय सहयोग मात्रै नभएर आवश्यक परामर्श र तालिम समेत लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्दछन् ।

व्यवसाय गर्नका लागि कर्जा र अन्य ठूला बैंकहरुले पनि दिन्छन् । तर, उनीहरुको लक्षित ग्राहक धेरै धनसम्पत्ति धितो राख्न सक्ने र ठूला ठूला विजनेस प्लान भएकाहरु हुन्छन् । लघुवित्तले भने विना धितो सामुहिक जमानीमा थोरै थोरै कर्जा उपलब्ध गराउँछ । उक्त कर्जा लगानी गरिएका पशुपालन, तरकारी खेती जस्ता ससाना उद्यमबाट भएको आर्जनबाट नै ऋणीले विस्तारै कर्जाको किस्ता तिर्ने गर्दछन् । यसरी लघुवित्तले गाउँगाउँमा आर्थिक क्रियाकलाप बढाउन सहयोग गरेको छ ।

यसरी नै ग्रामीण भेगमा हुने आर्थिक क्रियाकलापको सुरक्षणका लागि बीमा कम्पनीहरुले लघुबिमा योजना ल्याउने गर्दछन् । यस्ता योजनामा बीमितलाई धेरै ठूलो सम्पत्तिको बीमा गर्नुपर्दैन । नेपालमा अधिकांश जनताहरु ग्रामिण क्षेत्रमा बसोबास गर्छन् । ग्रामीण भेगमा नै धेरै जनताको बसोबास हुने आय आर्जन पनि कम हुन्छ, भने न्युन आय स्तर भएकाहरुमा नै बढी जोखिम पाइएको छ । प्रायः प्राकृतिम जोखिमबाट क्षतिग्रस्त हुने क्षेत्र ग्रामीण नै हुन्छन् । यस्ता विपत्तिबाट हुने आर्थिक नोक्सानी बचाउने काम लघुबीमाले गरेको छ ।

लघुवित्त र लघुबीमाले ग्रामीण अर्थतन्त्र बढाउने र जोगाउने काम गर्ने भएकाले सरकारले पनि यी व्यवसायलाई सपोर्ट गर्दै अगाडी बढिरहेको छ । लघुवित्त क्षेत्रको फण्डिङ समस्याको समाधानका लागि राष्ट्र बैंकले विभिन्न नीतिगत व्यवस्था गरेको छ । त्यस्तै, लघुबीमा बढाउन बीमा कम्पनीहरुले अनिवार्य लघुबीमा गर्नुपर्ने व्यवस्था गरेको छ । लघुबीमा निर्देशिका पनि कार्यान्वयनमा रहेको छ । फलस्वरुप, लघुबीमाहरु अब गाउँगाउँ पुग्न थालेका छन् ।

ठूला ठूला गाडी र बंगला मात्र नभएर लघुवित्तमार्फत कर्जा लिएर सुरु गरिएका पशुपालन, कृषि जस्ता व्यवसायाको बीमा सुविधा समेत बीमा कम्पनीहरुले लघुबीमामार्फत दिएका छन् । यसकारण, ग्रामीण भेगका मानिसहरुले ढुक्कसँग उद्यम गर्न पाएका छन् । यसी गरिएको बीमालाई बैंकमा बन्धकी राखेर कर्जा लिन समेत सकिन्छ ।

बीमा जस्तै लघुबीमा पनि विभिन्न प्रकारका हुन्छन् । यसअन्तर्गत, ग्राहस्थ लघुबीमा, स्वास्थ्य लघुबीमा, दुर्घटना लघुबीमा, पशु तथा पन्छी लघुबीमा, बाली लघुबीमा, म्यादी लघुबीमा र सर्वाधिक लघुबीमा हुन्छन् ।

लघुवित्त र लघुबीमाका कारण बैंक र बीमा जस्ता संस्था धनी वर्गका मानिसहरुका लागि हो भन्ने गलत धारणालाई हटाउन मद्दत मिलेको छ । नेपाल बिमक संघलाई लघुबीमा व्यवस्थापनको जिम्मा नै दिएपछि लघुबीमा विस्तारले झन् गति लिएको छ ।

मुलुकका ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण लक्षित लघुबिमा कार्यक्रमलाई नेपाल सरकार तथा बेलायती सहयोग संस्था सक्षमको सहकार्यमा संघले गाउँगाउँसम्म पुर्याको छ । निर्जीवन बीमा कम्पनीको चार करोड तथा सक्षम एक्सेस टु फाइनान्सको चार करोड गरी आठ करोड रूपैयाँमा माइक्रो इन्स्योरेन्स पुल बनाई लघुबीमा कार्यक्रम प्रभावकारी रुपमा संचालन भइरहेको छ ।
-बैंकिङ खबर

Facebook Comments
0Shares