बैतडीमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान

37

बैतडी, ४ कार्तिक–विपदको जोखिम कम गर्न दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ । चट्याङबाट हुने क्षति कम गर्न चट्याङ प्रतिरोधी प्रणाली र पहिरोको जोखिम कम गर्न पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको नगरपालिकाले जनाएको छ ।

युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी र हिमालय कन्जर्भेसन गु्रपको प्राविधिक सहयोगमा उक्त प्रणाली जडान गरिएको हो । परीक्षणका लागि नगरपालिका भवनको परिसरमा जडान गरिएको छ । चट्याङबाट बच्नका लागि नगरपालिकाको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिएको भूगर्भशास्त्री डा. रञ्जनकुमार दहालले बताए । ‘यो प्रणाली सस्तो छ,’ उनले भने, ‘यो प्रतिरोधी प्रणालीबाट ५० मिटर वरपर चट्याङको जोखिम हुँदैन।’ यस्तै, नगरपालिका भवन परिसरमै पहिरो पूर्वसूचना प्रणाली पनि जडान गरिएको छ ।

वर्षा भएको बेला पहिरो जान सक्ने सम्भावना भएमा घण्टी बज्ने प्रविधिसहित पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको डा.दाहालले बताए । ‘पाइप र गुच्चाको प्रयोग गरेर यो प्रणाली जडान गरिएको होे,’ उनले भने, ‘वर्षाले जमिन भासिएमा गुच्चा खसेर घण्टी बज्ने र यसले पहिरोको संकेत गर्नेछ ।’ यो प्रणाली प्रभावकारी भएमा अबको केही महिनापछि साइरन जडान गरिने जनाइएको छ ।

नगरपालिका परिसरमा राखिएको चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणालीबाट विपद् जोखिम कम गर्न सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल बताउँछन् । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले नगरपालिकासँग मिलेर विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो प्रणाली सफल भएमा अन्य वडाहरुमा पनि बिस्तार गरिने रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले बताए ।

Facebook Comments
0Shares