तिहारमा देउसी र जोगीलाई भिक्षाः ‘किन र कसरी दिने संस्कारको विकास’

56

नेपाली संस्कृतिले आफूले कमाएको सम्पत्ति एक्लै खाने नभई दान दक्षिणा पनि दिनुपर्ने संस्कार सिकाएको छ । यसलाई धर्मसँग जोडेर यो युगमा दिएको कुरा अर्को युगमा पाइन्छ भनेर सेवा भावलाई जागृत गरिएको छ । त्यसैले कात्तिक महिना र चैत महिनालाई दानको लागि उपयुक्त महिना मान्ने गरिन्छ ।

कात्तिक महिनामा तिहार पर्छ । यही महिनामा देउसी भैलोको चलन पनि चलि आएको छ । त्यसैले कात्तिके दानको महत्वलाई अझ बढी महत्वको साथ हेर्ने गरिएको छ ।

कात्तिकमा हामीले दुई किसिमको भिक्षा दिने गर्छौं । यसलाई दान पनि भन्ने गरेको पाइन्छ । तर, दान र भिक्षामा भने धेरै भिन्नता रहेको हुन्छ । दानको महत्व बुझेर इच्छित समय, स्थान र व्यक्तिलाई सहयोग गर्ने गरिन्छ भने त्यो दान हो । भीख खान नपाएकाहरुलाई दिने खाना भीख हो ।

त्यस्तै, भिक्षामा कुनैपनि व्यक्तिले आशा राखेर सहयोगको माग राख्ने गर्दछ । त्यसैले कात्तिके दान भनेर दिइने देउसीको दान र कान चिरेकाहरुलाई दिइने दान भिक्षा हो, दान होइन ।

कान चिरेका, पहेँलो लुगा लगाएका ती जोगीहरु कात्तिकको दिनमा दिन राति नौ बजेपछि फेरि लगाउन सुरु गर्छन् । त्यो समयमा घरमुली वा अरु कोही बाहिर निस्किएर उनीहरुको फेरी सुन्ने गर्छन् । यो परम्परा हराउँदै गएको छ । त्यो जोगीहरुको पूर्णकालीन काम हुन्थ्यो । कुन् गाउँमा को जाने रु भनेर पहिले सरकारले नै तोकिदिएको हुन्थ्यो ।

जोगीले बजाउने फेरी नामको एक किसिमको बाजा मृगको सिङ्गबाट बनाईएको हुन्छ । यसको आवाज शंखको जस्तै हुन्छ । अघिल्लो दिन जोगीले फेरी लगाएपछि भोलिपल्ट बिहान कसैले पनि जोगीलाई दान नदिई घरको मूल ढोका बन्द गर्ने थिएनन् ।

राति नौ बजेदेखि बिहान ४ बजेसम्म फेरी लगाएपछि उनीहरु ३ घण्टा मात्रै सुतेर बिहान ७ बजेदेखि फेरि सिधा उठन जान्थे ।यसरी भिक्षा दिने र लिनेको पनि भिन्दाभिन्दै नियमहरु हुन्छ । भिक्षा लिँदा जोगी घर भित्र छिर्न पाउँदैनन् । भिक्षा दिनेले पनि बाहिर निस्कन मिल्दैन ।

यदि यसरी भित्र र बाहिरको संघारमा बसेर भिक्षा दिँदा मात्रै त्यसको फल प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । घर गृहस्थ छाडेर गएका जोगी सन्यासीहरु फेरि गृहस्थको घरमा छिर्नु हुँदैन भन्ने मान्यता छ भने दान दिँदा घर भित्र दिनु हुँदैन भन्ने मान्यता छ ।

त्यसैले पनि जोगी सन्यासीलाई भिक्षा दिँदा घरको मूल ढोका भित्र र बाहिर गरेर दिने गरिन्छ । जोगीलाई सुत्नको लागि आसन दिँदा पनि पिँढीमा नै दिने गर्नुपर्छ । भिक्षा दिँदा पनि जम्मा एक मुठी मात्रै चामल या अरु अन्न दिने गरिन्छ ।

भिक्षा दिने बेलामा ‘हरे राम, हरे कृष्ण’ जस्ता भगवानको नाम वा आशीर्वाद दिने गरिन्छ । उनीहरुले आफूलाई गोरखनाथ र योगी नरहरि नाथको शिष्य मान्ने गर्छन् । उनीहरुका शिष्यहरुले कान छेडेका हुन्छन् र पाएको हरेक भिक्षा गोरखनाथलाई भोग लगाएर मात्रै खाने गर्छन् ।

मध्यरातमा लगाईने फेरीमा चार कोशसम्मका भुत प्रेतलाई बाँध्ने शक्ति हुन्छ भन्ने मान्यता छ । त्यसैले उनीहरुलाई त्यस्ता शक्तिले केही पनि असर गर्न सक्दैनन् । उनीहरुले त्यो घरमा भुतप्रेत नलागोस् भन्नको लागि र कुनै छेद नहोस् भन्नको लागि यो बाजाको साथमा फेरी लगाइन्छ । यसले गाउँलाई शान्ति दिने गर्दछ ।

यसरी जोगीले फेरी लगाएपछि भोलिपल्ट विशेष महत्वको साथ धान चामल तरकारी, नगद सहित सिदा दिने चलन छ । यस्तो सामग्रीहरु जोगीको लागि भनेर नयाँ धान चामल आउने बित्तिकै छुट्टाउने गरिन्छ । एक मुठी चामल सहितको यो भिक्षा दिएपछि भण्डारभरी पूर्ण होस् भनेर आशीर्वाद दिने गर्छन् ।

देउसीको पनि त्यस्तै शैली

तिहारमा खेलिने देउसी भैलोको पनि त्यस्तै शैली हुने गर्दछ । उनीहरुलाई गर्ने सहयोग पनि दान नभएर भिक्षा हो । त्यसैले भिक्षा दिँदा घर बाहिर नदिएर संघारमा बसेर दिने गरिन्छ । देउसीलाई दिने उपहारहरु केवल पैसा र सेलरोटी मात्रै होइन ।

आफ्नो घरमा भएको र परिवारले दिन सक्ने क्षमता भएका सामग्रीहरु दिने गरिन्छ ।कात्तिकमा दिने दानको महत्वसँग नै यो पर्व जोडिएको छ । त्यसैले देउसी खेल्न जाँदा उनीहरुको मान मर्दन हुने गरेर दक्षिणा माग्ने, रकम तोकेर सहयोग माग्ने र उनीहरुले दिएको कुरा लिन्न भन्ने जस्ता व्यवहारहरु संस्कृति विपरित हुन् ।

Facebook Comments
0Shares