भित्र्याउने बेलामा पनि पसाएन गरिमा जातको धान

38

बर्दिया, ९ कार्तिक–गरिमा जातको धान नपसाएपछि किसानहरु मर्कामा परेका छन् । बर्दियाका ठाकुरबाबा, मधुवन, राजापुर, गुलरियालगायतका पालिकाहरुमा लगाइएके गरिमा जातको धान भित्र्याउने बेलामा पनि नपसाएपछि किसानहरु मर्कामा परेका हुन् ।

धान नपसाएपछि प्राविधिकहरु खेतहरुमै पुगेर प्रारम्भिक लगत संकलन गर्न थालेका छन् । ठाकुरबाबा नगरपालिकामा करिब ६० बिघामा गरिमा जातको धान लगाइएको थियो । गरिमा धान भारतबाट आयातित हाईब्रिड जात हो । २०७२ सालमा नेपाल सरकारले यस धानलाई पञ्जीकरण गरेको थियो । विगतका वर्षहरुमा यो धान राम्रो उत्पादन हुँदै आएको थियो । तर, यस वर्ष गरिमा जातको धान भन्दै अर्कै धान दिएर बदमासी गरेको हुन सक्ने आशंका गरिएको छ । यस्तै, धान खेतमा अहिले फौजी किराको समेत प्रकोप देखिएको छ ।

यसअघि ठाकुरबाबा नगरपालिकामा यस किराको प्रकोप नफैलिए पनि पछिल्लो समय प्रकोप अत्याधिक देखिएको छ । ढिलो पाक्ने धानमा यो किराले क्षति पुर्याएको किसानको गुनासो छ । किरा दिउँसो र रातिमा क्षति पुर्याउने गरेको छ । किराको प्रकोपबाट बच्न धानको दाना अलिअलि पहेंलो भएपछि काटिहाल्न कृषि ज्ञान केन्द्र बाँकेले आग्रह गरेको छ। धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।

यहाँ बर्सेनि ६३ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको थियो । तर, यस वर्ष धान नफलेपछि २ दशमलब ०३ प्रतिशत उत्पादन घट्ने अनुमान जोन कार्यालयको छ । भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा चुनौती थपिएको छ ।

राजापुरमा लगाइएको धानमा समस्या देखिएपछि प्रदेश ५ का कृषिमन्त्री आरती पौडेल, जिल्लाका प्रदेश सांसद, कृषि वैज्ञानिकलगायत सरोकारवालाको टोलीले धान लगाइएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।

Facebook Comments
0Shares