भारतीय दूतावास अगाडि नै विद्यार्थीले जलाए भारतको ‘विवादित’ नक्सा

सीमा नाकामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

26

काठमाडौं, २२ कार्तिक–भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको विवादित नक्सा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि नै जलाएका छन् । काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका हुन् ।

भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुस समेत निकालेका थिए । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएको छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

सीमा नाकामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
भारतले नेपालको भू–भाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ ।

‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा विरोध प्रदर्शन गरेका हुन् । नेपाल भारत सीमास्तम्भ ७९३–१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गर्दै सीमा नाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट अनेरास्ववियुले समेत मोटसाइकल र्याली निकाल्दै भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका छन् ।

महेन्द्रनगरको पुस्पलाल चोकबाट निस्किएको विद्यार्थीहरुको र्‍याली ७ नम्बर सीमास्तम्भमा पुगेर भारतविरुद्ध नाराबाजी गर्दै गड्डाचौकी फर्किएर कोणसभामा परिणत भएको थियो ।

विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

Facebook Comments
0Shares