अमेरिकाद्वारा चीनको आलोचना गर्दै एक विवादित विधेयक पारित

28

एजेन्सी, ५ मंसिर–हङकङमा जारी प्रदर्शनबारे अमेरिकी संसदले एक विधेयक पारित गरेको छ । उसले लोकतन्त्रको पक्षमा जारी हङकङको प्रदर्शनमा चीनले मानव अधिकार उल्लंघन गरेको ठहरसहित विधेयक पारित गरेको जनाइएको छ ।

चीनले हङकङमा जारी प्रदर्शन कमजोर पार्न आफ्नो सेना परिचालन गरेको र अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेको भन्दै अमेरिकाले मानव अधिकारको मामिलामा चीन कमजोर रहेको आरोप लगाएको छ । हङकङमा ६ महिनादेखि जारी लोकतन्त्र पक्षधरहरुको आन्दोलनलाई विधिन्न समयमा आफ्नो वक्तव्यमार्फत समर्थन र चिनियाँ भूमिकाको विरोध गर्दै आएको अमेरिकाले ‘हङकङ ह्युमन राइट्स एण्ड डेमोक्रेसी एक्ट’ नामक विधेयक पारित गरेको हो ।

उता हङकङका प्रदर्शनकारीले अमेरिकासँग पटकपटक सहयोग माग्दै आएका छन् । उनीहरुले अमेरिकाले पारित गरेको विधेयकलाई पनि तत्काल कानूनका रुपमा परिणत गरी कार्यान्वयन गर्न अपिल गरेका छन् ।

अमेरिका भने चीनसँग पटकपटक व्यापारका विषयमा विवादित रहेकामा यस विधेयकका कारण झनै विवादित हुने देखिएको छ । यसअघि दुबै देशले एक अर्का देशको सामानमा व्यापक कर बढाउँदै आएका थिए।

Facebook Comments
0Shares