माछा पालनबाट मनग्य आम्दानी

25

कञ्चनपुर, ८ मंसिर–शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका २२ वर्षीय नरेश चौधरीको प्रेरणा फिस एण्ड पिग एग्रो फार्म छ । त्यही कम्पनीअन्तर्गत माछा र बंगुर पालन गर्दैै आएका छन्। पन्ध्र कट्ठा जग्गामा १५ लाख रुपैयाँमा ठूलठुला तीनवटा पोखरी निर्माण गरेका छन् ।

पोखरीकै डिलमा बंगुरको खोर निर्माण गरेका छन् । बंगुर पालनमा पाँच लाख लगानी गरेका छन् । उनले कृषि विकास बैंकमा जग्गा धितो राखेर व्यवसाय सुरु गरेका हुन् । पोखरीमा कमन कार्प, रोगहु, विगेट, नैनी, सिल्भर कार्प र ग्रास कार्प जातका माछापालन गरेका छन्। पोखरी नजिकैको जोनापुर गाउँमा होमस्टे सञ्चालनमा छन् । उनले उत्पादन गरेका माछा होमस्टेका लागि पोखरीबाटै बिक्री हुने गरेका छन् ।

पोखरीबाट हालसम्म १०० किलोभन्दा बढी माछा बिक्री भैसकेको उनले बताए। यस्तै, बंगुरका नौवटा पाठा र एकवटा माउ बिक्री गर्दा एक लाखभन्दा बढी भएको छ । माछा बिक्री गरी ३० हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।  बंगुरको एउटा पाठा मात्रै तीन हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ । माछा पोखरीबाटै प्रतिकिलो ३०० रुपैयाँ र बजारमा ३५० रुपैयामा बिक्री हुने गरेको छ ।

आम्दानीबाट उनले बैंकको ब्याज पनि तिर्दै आएको बताए । ‘चारो र औषधिमा गरी मासिक रुपमा १० हजार रुपैयाँ खर्च लाग्ने गरेको छ,’ उनले भने, ‘बैंकको व्याज मात्रै मासिक रुपमा २० हजार बुझाउँदै आएको छु ।’ उनले माछा र बंगुर पालनका लागि तालिम लिएका छैनन् । उनले भने, ‘इन्टरनेटका माध्यमले युट्युबमा माछा र बंगुरपालनको तौर तरिका हेरेर सिकेको हो ।’

माछा पोखरी र बंगुरको खोर निर्माण गरेको जग्गामा धान, गहुँलगायत खाद्यान्न खेती गर्दा वर्षमा मुस्किलले ३० हजार रुपैयाँ आम्दानी हुने गरेको चौधरीले बताए । तर, माछा र बंगुर पालनबाट मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ ।

यसअघि वर्षभरी हुने आम्दानीभन्दा एक महिनाको आम्दानी नै धेरै हुन थालेपछि घरका अन्य सदस्यले पनि काममा सघाउन थालेको नरेश बताउँछन् । यसले उनलाई काम गर्न झ प्रेरणा दिएको छ । ‘तीन वटै पोखरीमा वर्षमा तीन लाखदेखि पाँच लाख रुपैयाँका माछा उत्पादन गर्ने लक्ष्य लिएको छु,’ उनले भने, ‘त्यतिकै रकमको बंगुर उत्पादन गरी आम्दानी गर्ने योजना छ ।’

Facebook Comments
0Shares