सिद्ध बाबालाई ह्विल चियरमा अदालत, चार दिन थुनामा राख्‍न अनुमति

30
सिद्धबाबा

इटहरी, १६ मंसिर–बलात्कारको आरोप लागेका चतराका साधु कृष्णदास गिरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत कृष्णदासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो । बिहान ४ बजे एम्बुलेन्स लिएर अस्पताल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिइ ह्विल चियरमा अदालत लगेको हो ।

अस्पतालमा पनि प्रहरीको निगरानमाी रहेका उनलाई प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी गरे पनि हर्ट अट्याक भएको भन्दै उनी आइसियुमा भर्ना भएका थिए । आज भने उनको स्वास्थ्यमा सुधार भएको थाहा पाएपछि प्रहरीले आइसियुबाटै पक्राउ गरेको हो । अस्पताल प्रशासन, केही राजनीतिक दलका नेता, कर्मचारीहरू उनलाई जोगाउन लागिपरे पनि अन्ततः उनी पक्राउ परेका हुन् ।

आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो । महिलाले गत मंगलबार जाहेरी दिएपछि विषय बाहिर आएको थियो । गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ ।

२ नं.इजलासका जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले ४ दिनको म्याद थप गरेको हो । ४ दिनभित्र प्रहरीले घटनाको विषयमा अनुसन्धान गरी मिसिल अदालतमा पेश गरिसक्नुपर्छ । ४ दिन भित्रपनि अनुसन्धान नसके प्रहरी फेरि म्याद थप गर्न सक्छ ।

Facebook Comments
0Shares