माया लाउनु नि लै लै धानै नाचेर…….

113

ताप्लेजुङ, ५ पुस–‘पुसे मेला भेटभाको बेला, माया लाउनु नि लै लै धानै नाचेर’ लोक गायक तथा संकलन खगेन्द्र यक्सोको चर्चिच गीत हो । यो गीतमा भनिएजस्तै तत्कालीन मेची र कोशीको लिम्बू समुदाय बाहुल्य क्षेत्रमा लाग्ने मेलामा लिम्बूको सांस्कृतिक नाच धान नाच्ने प्रचलन छ ।

यही नाच नाचेर युवायुवती प्रेममा पर्ने र विवाह समेत गर्ने प्रचलन थियो । बर्खायाममा लगाएको खेतीपाती थन्काएपछि फुर्सदिला बनेका यहाँका स्थानीयहरु पुस र माघभरी विभिन्न मेलाहरुमा रमाइलो गर्ने प्रचलन छ ।

यो अवधिमा चासोक तङनाम, पुसे मेला, माघे मेलालगायत विभिन्न मेला लाग्ने गर्दछ । यस्ता मेलाहरु तीनदेखि पाँच दिनसम्म लग्दछ । टाढा–टाढाकोे साथीसँग भेटघाट, सोल्टी सोल्टेनीको ठट्टा यस्ता मेलाका मुख्य विषेशता हुन् ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा लगायतका स्थानमा प्रायः मेला लाग्ने गर्दछ । ताप्लेजुङमा ४५ वर्षदेखि लाग्दै आएको पुसे मेला अहिले पनि जारी छ । तमोर र मैवा खोलाको संगमस्थलमा लाग्ने यस मेला धान नाच, स्थानीय उत्पादनको बिक्रीका साथै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका आयोजना गरिन्छ ।

मेलाको आकर्षणका लागि हान्द्रुङदेखि दोभानसम्मको र्‍याफ्टिङ, कृषि उपजहरू, सांस्कृतिक झाँकी हुन् । खाद्य परिकार, फुटबल तथा भलिबल प्रतियोगिता मेलामा दर्शक भुलाउने माध्यम बनेका छन् ।

सांस्कृतिक कार्यक्रममा प्रमोद खरेल, ज्योति मगर, याङ्की ह्योल्मू, भरतमणि पौडेल आदिले प्रस्तुति दिइसकेका छन् । मैवाखोलाको पुलमा आवतजावत गर्नेहरुले सुरक्षाकर्मीहरुलाई धौधौ बनाएका छन् ।

युवायुवतीहरू एकापसमा हात समाएर धान नाच्ने, मन माझामाझ गर्ने र मिले विवाह गर्ने क्रम यो वर्ष पनि चल्यो । तमोर र मैवालाई साक्षी राखे जीवन सुखमय हुन्छ भन्ने विश्वास युवायुवतीमा छ । मुलुकमा सशस्त्र द्वन्द्व चलेका बेला दुई वर्ष मेला नलागे पनि त्यसबाहेक बर्सेनि मेला नरोकिएको पुसे मेला बजार व्यवस्थापन समितिका संयोजक हेम चोङबाङले बताए ।

Facebook Comments