सबैले औषधि नखाँदा हात्तीपाइले रोग निवारणमा चुनौती

100

काठमाडौं, २३ माघ–हात्तीपाइले रोगविरुद्धको औषधि सबैले नखानाले हात्तीपाइले निवारणमा चुनौती थपिएको इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपाल सरकारले सन् २०२० भित्रै नेपालमा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको थियो । सो योजनाअनुसार हालसम्म १३ जिल्ला तथा केही सहरी क्षेत्रमा निवारण हुन नसकेको महाशाखाले जनाएको छ ।

क्युलेक्स नामक संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा हात्तीपाइले रोग लाग्छ । मानिसलाई टोक्ने क्रममा लामखुट्टेले मानिसको रगतमा उच्चरिया ब्याङक्राप्टी नामक परजीवी छोड्छ । यो परजीवी मानसिको शरीरमा प्रवेश गरेपछि ६ देखि २० वर्ष जीवित रहन्छ। यसले सुरुमा कुनै लक्षण देखाउँदैन । रगतको माध्यम हुँदै हात, खुट्टा र पुरुषको हाइड्रोसिलमा पुगेर क्षति पुर्याउँछ । यसको संक्रमण बढेपछि बढी मात्रामा खुट्टा सुन्निने र हाइड्रोसिलमा पानी भरिने समस्या आउँछ ।

हात्तीपाइले भन्नेबित्तिकै खुट्टा सुन्निएर हात्तीको जस्तो भएको अवस्थालाई मात्र बुझ्ने प्रचलन रहे पनि यो रोगमा हातखुट्टाका औंला सुन्निने र पुरुषको हाइड्रोसिलमा पानी भरिने हुन्छ । रोग लागिसकेपछि खास उपचार नभएकाले हात्तीपाइले नलाग्दै औषधि सेवन गरे बच्न सकिने चिकित्सकको सुझाव छ ।

सरकारले हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान सन् २००३ देखि सुरु गरेको थियो । नेपालका ६३ जिल्लामा प्रकोप रहेकपाइलेको अहिले ५० जिल्लामा निवारण भइसके पनि १३ जिल्लामा निवारण हुन सकेको छैन । निवारण हुन नसकेका जिल्लामा झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, वाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन् । यो संख्या सन् २०१९ मा १५ जिल्लामा थियो ।

सात दिनभित्रका सुत्केरी, गर्भवती, दुई वर्षभित्रका बालबालिका, मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायत दीर्घरोगी र सिकिस्त बिरामीले औषधि सेवन गर्नुहुँदैन। अन्यले औषधि सेवन गर्दा केही खाना खाएर मात्र गर्न चिकित्सकको सुझाव छ ।

महाशाखाका अनुसार जनमानसमा आम औषधिबारे ‘बिरामी भइन्छ या मरिन्छ’ भन्ने गलत धारणा, केही जिल्लामा निवारण हुन नसक्नु, सरकारको नयाँ संरचनामा आम औषधी अभियान व्यवस्थापनमा कठिनाइ, सहरी क्षेत्रमा सबैलाई औषधि खुवाउन नसक्नुजस्ता कारणले निवारण हुन नसकेको हो । महाशाखाका प्रमुख डा। विवेककुमार लालका अनुसार निवारण हुन बाँकी जिल्लामा प्रकोपदर पहिल्यै उच्च रहेको र विस्तारै घट्दै गइरहेकाले पनि घोषित समयमा निवारण हुन नसेकेको हो ।

अहिले पनि गाउँघरमा औषधिबारे गलत भ्रमले नै सबैले नियमित रूपमा औषधि सेवन गर्न नसकेको स्वास्थ्य सेवा विभागका प्रमुख रोशन पोख्रेलले बताए । ‘२ वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनभित्रका सुत्केरी र गम्भीर रोग लागेर थला परेका बिरामीले बाहेक सबैले हात्तीपाइलेको औषधि खान सक्छन् र असर पनि गर्दैन,’ उनले भने ।

नेपालमा अहिले पनि ६३ जिल्लाका २ करोड ५० लाख मानिस यसको जोखिममा छन्। हाल नेपालमा ३० हजार पुरुषमा हाइड्रोसिल भइसकेको छ भने हात्तीपाइले हुने र खुट्टा सुन्निनेको संख्या उल्लेखनीय छ ।

२५ माघदेखि १३ जिल्लामा अभियान
सरकारले यो वर्ष हात्तीपाइले निवारण हुन नसकेका १३ जिल्लामा हात्तीपाइलेविरुद्धको आमऔषधि अभियान सञ्चालन गर्ने भएको छ । ती जिल्लामा अभियान सञ्चालनका लागि प्रदेश सरकार र स्थानीय सरकार दुवैको उत्तिकै जिम्मेवारी रहनेछ ।

अभियानअन्तर्गत घरघरमा स्वास्थ्यकर्मी पठाएर औषधि वितरण गर्ने र परामर्श दिने कार्यक्रम रहेको छ । सबैलाई समेट्न स्थानीय तहका स्वास्थ्यकर्मीको संख्या अनुसार समय तोकिने महाशाखाले जनाएको छ । अभियान सफल पार्न सम्बन्धित जिल्लाका स्थानीय मिडियासमेत परिचानल गरिरहेको महाशाखाप्रमुख डा। लालले बताए ।

चिकित्सकका अनुसार हात्तीपाइलेको जीवाणु रगतमा हुने र त्यो जीवाणु रहेका व्यक्तिलाई औषधि सेवन गरेपछि केही समयका लागि केही अप्ठ्यारो हुने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छन् । औषधि सेवनपछि हात्तीपाइलेका जीवाणु मर्ने क्रममा रसायन उत्पन्न भई केही असरसमेत देखिने र आफैं हराउने हुन्छ ।

यी असरलाई सामान्य मानेर सबैले औषधि सेवन गरे अभियान सफल हुने डा.लालको भनाइ छ । तर, सात दिनभित्रका सुत्केरी, गर्भवती, दुई वर्षभित्रका बालबालिका, मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायत दीर्घरोगी र सिकिस्त बिरामीले भने औषधि सेवन गर्नु हुँदैन । यो समूहमा नपरेका व्यक्तिले औषधि सेवन गर्दा पनि केही खाना खाएर मात्र गर्न चिकित्सकको सुझाव छ ।

सरकारले वितरण गर्ने दुईवटा औषधि र अर्को यो औषधि लगातार ६ वर्षसम्म वर्षको एक पटकका दरले सेवन गरेमा शरीरबाट हात्तीपाइलेको जीवाणुको मृत्यु हुने र पछि गएर हात्तीपाइले रोग नलाग्ने चिकित्सकले सुझाएका छन् ।

Facebook Comments