अन्तरिक्षमा ३२८ दिन बिताएर यसरी पृथ्वीमा फर्किइन् क्रिष्टिना

80

काठमाडौं, २४ माघ–अमेरिकाकी महिला क्रिष्टिना कोच ३२८ दिन अन्तरिक्षमा बिताएर बिहीबार पृथ्वीमा फर्किएकी छन् ।

अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी थिइन् ।

अन्तरिक्ष यानबाट बाहिर निस्किएपछि हर्षित हुँदै उनले भनिन्, ‘म निकै उत्साहित र खुशी छु । अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेको बेला यो मेरो सम्मान हो ।’

क्रिष्टिना कोचले पेगी हिविट्सनको रेकर्ड तोडेकी छन् । यसअघि पेगीको नाममा २८९ दिनसम्म अन्तरिक्षमा बिताएको रेकर्ड थियो । अन्तरिक्षमा सबैभन्दा लामो समय (४३७ दिन) बिताउने व्यक्ति भने रुसका भलेरी पोल्याकोभ हुन् ।

४१ वर्षीया क्रिष्टिना कोच अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत अमेरिकी इन्जिनियर हुन् । नर्थ क्यारोलिना विश्वविद्यालयबाट उनले इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर पास गरेकी छिन् । उनलाई नासाले सन् २०१९ को मार्च १४ मा अन्तरिक्षमा पठाएको थियो ।

क्रिष्टिनाले पृथ्वीको कक्षलाई ५ हजार २४८ पटक घुमेको नासाले जनाएको छ । यस क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन् । नासाका अनुसार उक्त दूरी बराबरको यात्रा गर्दा पृथ्वीबाट चन्द्रमामा २९१ पटक ओहोरदोहोर गर्न सकिन्छ ।

क्रिष्टिनासँग नासाका अन्य दुई जना सहकर्मीहरु पनि थिए । सन् २०१९ को अक्टोबरमा क्रिष्टिना र जेसिका मेयरले अन्तरिक्ष केन्द्रबाहिर स्पेसवाक गरेका अर्थात् हिंडेका समेत थिए ।

Facebook Comments