सरकारको दुई वर्षे कार्यकाल पूर्ण सफल रहेको प्रधानमन्त्री ओलीको दाबी

37
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, ३ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताएका छन् । प्रधानमन्त्री नियुक्त भएको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘लामो समय ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछु, ओलीले भने । आफूले पहिलो वर्षलाई आधार वर्ष र दोस्रोदेखि पाँचौँ वर्षसम्मलाई उपलब्धि वर्षका रुपमा लिएको प्रधानमन्त्री ओलीको भनाइ छ । अल्पकालीन सरकारले क्षणिक लोकप्रिय कार्यक्रम गर्ने र स्थायी सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन लक्ष्यसहित काम गर्ने भन्दै ओलीले आफूले विस्तारै काम गरिरहेको दाबी गरे।

नेपाल तीव्र आर्थिक विकास गरिरहेको सूचीमा शीर्ष १० देशभित्र रहेको भन्दै उनले लगातार तीन वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतभन्दा माथि रहेको बताए । गरिबी १ दशमलव ५ प्रतिशतले कमी आएको उनको दाबी छ । यो अवधिमा पुराना बेरोजगार सबैले काम नपाए पनि नयाँ बेरोजगार नथपिएको जिकिर गरे ।

यो वर्ष ५५ वटा कानुन निर्माण भएको र मौलिक हकहरु कार्यान्वयनमा आएको पनि उनले उल्लेख गरे । तुइन विस्थापनको कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै प्रधामन्त्री ओलीले अब विस्थापन हुनका लागि डेढदर्जन तुइन पनि बाँकी नरहेको उनले बताए ।

करको दर बढाइएको भन्ने भ्रम चिर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले करको दर नभई दायर बढाइएको बताए । कुल व्यापार घाटा पनि विगतको तुलनामा ६ दशमलव १ प्रतिशत गिरावट आएको उनले बताए ।

Facebook Comments