ज्योति मगरको नाचले महेन्द्रनगर महोत्सवमा लाठीचार्ज, पाँच जना पक्राउ

63

महेन्द्रनगर, १३ फागुन–कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ का क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गायिका ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिति आएको स्थानीयले जानकारी दिएका छन् ।

सोमवार चर्चित गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति थियो । ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्श्रृंखल गतिविधि भएको हो ।

उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । त्यसक्रममा केही युवा घाइते भएका छन् । झडपमा तीन प्रहरी समेत घाइते भएका प्रहरीले जनाएको छ ।

महोत्सवमा उच्श्रृंखल गतिविधि गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भुवन विष्ट, २२ वर्षीय महेन्द्र बुढा, २१ वर्षीय दिलिप विष्ट, २३ वर्षीय अभिसेक खड्का र २४ वर्षीय भुवन विष्ट छन् ।

Facebook Comments