कोरोनाको आशंका गरिएका झापाका विरामीमा फ्लू र निमोनियाः डा पाण्डे

268

काठमाडौं, २ चैत–झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामीमा फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ । विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं पठाएको थियो । कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको ग्राण्डीका बरिष्ठ चिकित्सक डा। चक्रराज पाण्डेले जानकारी दिए । उक्त विरामीको फ्लू लगायत अन्य संक्रमणको सम्पूर्ण जाँच गराएको छ भने साँझसम्ममा रिपोर्ट आइसक्ने उनले बताए ।

ग्राण्डी अस्पतालमा कोरोनासँग जुध्न विभिन्न सुरक्षा सर्तकता अपनाइएको उनले बताए । प्रत्येक विरामीको ज्वरो नाप्ने लगायतको प्रक्रिया पुरा गरिएको र शंका लागेका विरामीलाई बाहिरै आइसोलेशन लगायतका विधि अपनाइएको उनले बताए ।

झापाबाट ल्याइएको विरामीमा भने कोरोना भाइरसको सङ्क्रमणभन्दा पनि मौसमी फ्लू भएर उनलाई निमोनिया भएकाले आइसियूमा राखिएको उनले सुनाए । ज्वरो आउने र रुघाखोकी लाग्ने बित्तिकै कोरना भाइरसको सङ्क्रमण भन्दै आत्तिन नहुने उनको सुझाव छ ।

सन् २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण ४६ देशका नागरिकको मृत्यु भएको छ । यसबाट विश्वका १५२ देशका कूल एक लाख ५६ हजार व्यक्ति प्रभावित भएका छन् । हालसम्म पाँच हजार ८३९ जनाको निधन भएको छ । सङ्क्रमितमध्ये ७५ हजार ९३७ उपचारपछि घर फिर्ता भएका छन् । विश्वका ७४ हजार ९९० जना कोरोनाको सङ्क्रमणमा छन् ।

बिरामीमध्ये ९२ प्रतिशत सामान्य रहे पनि आठ प्रतिशत जोखिममा छन् । मृत्युको हिसाबले ८० वर्षभन्दा माथिका व्यक्तिमध्ये १४.८ प्रतिशत छ । अन्तरराष्ट्रियस्तरमा क्यानडाली प्रधानमन्त्रीकी श्रीमती, अष्ट्रेलियाली गृहमन्त्री, बेलायती स्वास्थ्यमन्त्री तथा इरानी उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्री सङ्क्रमित भएका छन् ।

यस्तै, इरानका एक ५५ वर्षीय सांसदको निधन भएको छ । यसैगरी, चीन भ्रमणपछि मङ्गोलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा रहेका छन् ।

Facebook Comments