दक्षिण एसियामा कोरोनाः ज्यान गुमाउनेको संख्या ३८ पुग्यो, भारत र पाकिस्तानमा धेरै क्षति

125

काठमाडौं, १४ चैत–कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाले ज्यान गुमाउनुपरेको छ । एकैदिन ८ जनाको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी अर्थात २० पुगेको छ । त्यहाँ अहिलेसम्‍म ७२७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएका छन्‌ । पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १२०१ जना संक्रमित भएका छन्‌ । बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ । त्यहाँ कोरोना संक्रमित पाँच जनाको ज्यान गएको छ भने ४४ जना संक्रमित भेटिएका छन्‌ ।

अफगानिस्तानमा संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन्‌ भने ९४ जना संक्रमित भएका छन्‌ । श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन । अहिलेसम्म श्रीलङ्कामा १०६, माल्दिभ्समा १३, नेपालमा तीन र भुटानमा दुई जना संक्रमित भेटिएका छन्‌ ।

भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये ४५ जनाको उपचार भइसकेको छ । पाकिस्तानमा २१, बंगलादेशमा ११, अफगानिस्तानमा दुई, श्रीलङ्कामा सात, माल्दिभ्समा आठ जनाको उपचार भइसकेको छ । नेपालमा हालसम्म भेटिएका तीन संक्रमितमध्ये एकजनाको उपचार भइसकेको छ भने दुई जना उपचाररत छन्‌ ।

भुटानमा भेटिएका दुवै संक्रमित अहिलेसम्म निको हुन सकेका छैनन्‌ । दक्षिण एसियाली मुलुकमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २१९० पुगेको छ ।

Facebook Comments