‘दौडमा जीवन समर्पित गर्छु’–अल्ट्रा म्याराथन धावक श्रेष्ठ

1284

दौड (म्याराथन) मा जीवनभर समर्पित हुने चाहाना बोकेका तेजेन्द्र श्रेष्ठ राष्ट्रियस्तरका ठूला–ठूला प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन् । हालै मात्र उनले झापाको दमकदेखि पाँचथरको रविसम्म ४७ किलोमिटरको दुरी सफलतापूर्वक सम्पन्न गरेका छन् ।

दमक–रविसम्मको मैत्रीपूर्ण उक्त दौड उनले ७ घण्टा लगाएर पार गरेका हुन् । अल्ट्रा म्याराथन खेलको विकास गरी त्यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरुको चिनारी दिन धावक श्रेष्ठले त्यस मार्गको दौड तय गरेका हुन् ।

भोजपुर वास्तिम–६ घर भएका धावक श्रेष्ठ विगत पाँच वर्षदेखि झापाको दमकमा छन् । २०५३ सालमा पिता प्रेमकुमार र माता बिनाकुमारीको पुत्र भएर भोजपुरमा जन्मेका उनी यतिबेला अल्ट्रा म्याराथन धावकको रुपमा परिचित भइसकेका छन् ।

प्रजातन्त्र सेनानी स्व.मुगाधन राई र स्व.पत्नी कृष्णकुमारी राईको नाममा स्थापना भएको मृगाधन–कृष्णकुमारी प्रतिष्ठानले प्रतियोगिताको निम्ति श्रेष्ठलाई आवश्यक पर्ने खर्च र स्रोत जुटाउने गर्छ । त्यस्तै दमकमा रहेको अर्को सगरमाथा मल्टी मार्शल आर्टमा आबद्ध धावक श्रेष्ठले एक दर्जन अल्ट्रा र हाफ म्याराथनमा भाग लिइसकेका छन् ।

धरानदेखि दमकसम्मको ७२ किलोमिटर अल्ट्राम्याराथनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय धावकहरुसँग सहभागिता जनाएका थिए । उनी भन्छन्– ‘अग्रजहरुसँग सहभागिता जनाएकोले मभित्र उत्साह आयो । सो दौडमा विश्व नम्बर वान आल्ट्रा धाविका मिरा राई लगायत नेपाली सेना र प्रहरीका ओलम्पिक खेलाडीहरुको समेत सहभागिता थियो ।

त्यस्तै उनले काठमाडौंमा सम्पन्न दुईवटा म्याराथनमा सहभागिता जनाए । कान्तिपुर हाफ म्याराथन र जर्नाल अल्ट्रा म्याराथनमा सफलताका साथ सहभागिता जनाएका छन्् । दौडको निम्ति पोखरामा सम्पन्न सफल इन्टरनेशनल पोखरा म्याराथनमा श्रेष्ठ उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।

उनी जीवनको सुरुवात क्षणहरुमा आफूलाई फुटबलर खेलाडीको रुपमा परिचित गराउन चाहन्थे । दमकस्थित हिमालय उच्च माध्यमिक विद्यालयमा १० किलोमिटर दौडमा सहभागी भएर प्रथम भएका श्रेष्ठले पाँचौ राष्ट्रपति रनिङ कप चन्द्रगढीमा सम्पन्न ५ किलोमिटर म्याराथनमा दोस्रो भए ।

त्यसपछि उनलाई लाग्यो यस खेलबाट आफू अघि बढ्न सक्दिनँ होला भनेर । उनी भन्छन्– ‘घरको आर्थिक अवस्था नाजुक थियो ।’ म्याराथनमा सहभागी हुनलाई आवश्यक पर्ने राम्रो जुत्ता, खाने भिटामिन र यातायात खर्च समेत नहुँदा निराश बनेको उनी बताउँछन् ।

कमजोर आर्थिक अवस्था भएका २२ वर्षीय श्रेष्ठको म्याराथन खेललाई प्रोत्साहन दिँदै मुगाधन–कृष्णकुमारी प्रतिष्ठानले समेत आवश्यक तालिम र खर्चको व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवम् सांसद महेन्द्रकुमारी लिम्बूको साथ–सहयोग र अभिवाकत्वले खेल क्षेत्रमा निरन्तरता दिन प्रयास गरिरहेको उनी बताउँछन् । ‘प्रतिष्ठानका राष्ट्र राई, रोहित राई, दीपक धिमाल, मिरा राईको खेल क्षेत्रमा भएको अथक योगदान र प्रगतिले मलाई खेलमा लाग्ने हौसल्ला मिल्यो’–श्रेष्ठले भने ।

Facebook Comments