लेखक : राजेश शर्मा

अररिया, कार्तिक २७ गते । भारतको बिहारस्थित अररिया प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको ‘अपरेशन प्रहार’ अभियानअन्तर्गत ठूलो कारबाही गर्दै चार किलो ८० ग्राम स्म्याकजस्तो लागुऔषधसहित ६ जना तस्करलाई पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट स्म्याकजस्तो पदार्थ बनाउन प्रयोग हुने ५० किलो सेतो पाउडर, एक लिटर रसायन, पाँच लिटर प्रशोधित पानी, नम्बर प्लेट नभएको कालो स्कोर्पियो गाडी र सात थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।
नोभेम्बर १२ तारिख एसडीपीओ सुशील कुमारको नेतृत्वमा जिल्ला अनुसन्धान टोली (डीआईयू), नगर प्रहरी चौकी, आरएस प्रहरी चौकी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा छापा मार्दै कारबाही गरेको थियो ।
पहिलो कारबाहीमा पश्चिम बंगालका इस्माइल शेखलाई राष्ट्रिय राजमार्ग-२७ स्थित हडियाबारा टोल प्लाजाबाट ८१२ ग्राम स्म्याकसहित पक्राउ गरिएको थियो। उनकै बयानका आधारमा रियाज अन्सारीलाई जोगबनीको स्टेसन रोडबाट पक्राउ गरिएको जनाएको छ।
त्यसैगरी, दोस्रो कारबाहीमा कुशियारगाउँ माछा बजारनजिकै हमसफर बसमा सवार रिंकु महालदारलाई एक किलो ६१६ ग्राम स्म्याकसहित नियन्त्रणमा लिइएको थियो ।
तेस्रो कारबाहीमा हाडिया चोकस्थित राष्ट्रिय राजमार्ग-२७ मा सवारीसाधन जाँच गर्ने क्रममा नम्बर प्लेट नभएको स्कोर्पियो गाडीबाट नबिरुल महालदार, रमजानी महालदार र चालक मुकेश कुमार पक्राउ परेका थिए। उनीहरूको साथबाट एक किलो ६५२ ग्राम स्म्याकजस्तो पदार्थ, ५० किलो सेतो पाउडर, रसायन तथा अन्य सामग्री बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।
पक्राउ परेका छ जना पश्चिम बंगालको माल्दा र बिहारको अररिया जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरू संगठित लागूऔषध कारोबार सञ्जालसँग सम्बन्धित रहेको आशंका गरिएको छ।
भारतीय प्रहरीका अनुसार उक्त कारोबारमा संलग्न अन्य व्यक्ति तथा यसको सञ्जाल पहिचान गर्न थप अनुसन्धान भइरहेको छ। जिल्लालाई लागूऔषधमुक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘अपरेशन प्रहार’ अभियानअन्तर्गत गरिएको यो कारबाहीमा विभिन्न प्रहरी टोली तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी