
विराटनगर, कार्तिक २० गते । मोरङको रतुवामाई नगरपालिका अन्तर्गत डाम्राभिट्टा बजार पूर्व झुल्काडोवा जोड्ने सडकस्थित कट्नु खोला पुल निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएकाे छ ।
उक्त पुलको भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशका मन्त्री जीवन आचार्यले पुलको भव्य उद्घाटन गरेका छन् ।
पुल उद्घाटन समारोहका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशका मन्त्री माननीय जीवन आचार्यले रिबन काटेर पुलको औपचारिक समुद्घाटन गरे। निर्धारित समयभन्दा अगावै गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्री आचार्यले यस्ता जिम्मेवार र समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई राज्यले थप प्रोत्साहन गर्नुपर्ने बताए।
उनले विकास निर्माणका आयोजनामा समयको पालना, गुणस्तर र जिम्मेवारीबोध महत्त्वपूर्ण हुने उल्लेख गर्दै निर्माण क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र कार्यक्षमताको विकास हुनुपर्ने धारणा राखे।
सम्झौताअनुसार २०८२ साल साउन १० गते निर्माण सम्झौता भएको उक्त पुल २०८४ साल साउन १८ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो । तर निर्माण व्यवसायीले तीव्र गतिमा काम अघि बढाउँदै २०८३ साल असोज २० गते नै निर्माण सम्पन्न गरेको जानकारी कार्यक्रममा दिइयो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार कट्नु खोला पुल निर्माणका लागि भ्याट तथा पि एस सहित कुल ६ करोड ५३ लाख १७ हजार ६ सय २६ रुपैयाँ १३ पैसा भुक्तानी भएको छ। पुल निर्माण सम्पन्न भएसँगै डाम्राभिट्टा बजार पूर्व झुल्काडोवासहित आसपासका स्थानीय बासिन्दालाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।
पुल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता प्रेमबहादुर अधिकारी र स्वर्गीय टेकबहादुर खत्रीप्रति सम्मान व्यक्त गरिएको थियो। साथै निर्माण कार्यमा अहोरात्र खटिएर योगदान पुर्याउने पूर्वाधार विकास कार्यालय मोरङका इन्जिनियर सत्यनारायण साह, इन्जिनियर किशोर पुरी, इन्जिनियर श्याम बानियाँ, इन्जिनियर माधव माझी तथा निर्माण व्यवसायी अतनकुमार बुढाथोकीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्वाधार विकास कार्यालय मोरङकी ल्याब इन्जिनियर आरती साहले प्रमुख अतिथि, विशिष्ट अतिथि, जनप्रतिनिधि, वडा अध्यक्ष तथा समाजसेवीहरूलाई फूलमाला लगाएर स्वागत गरेकी थिइन् ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्षेत्र नं. २ का पूर्वमन्त्री गणेशप्रसाद उप्रेती, भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका सचिव मिलन आचार्य लगायत जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजनल इन्जिनियर खडानन्द ईसरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन विमल मान राईले गरेका थिए।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी