लेखक : विष्णु राजवंशी

विराटनगर, कार्तिक २१ गते । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले शुभ–दीपावली, नेपाल संवत्, छठ, उधौलीलगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चार क्षेत्रका अगुवाहरूले प्रेस स्वतन्त्रताको रक्षा, संविधानको संरक्षण र पत्रकारमाथि हुने प्रतिबन्ध तथा अंकुशविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार शिवबहादुर कार्की, महाप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारी कोशी प्रदेशका महासचिव बाबुराम भण्डारी, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारीका केन्द्रीय सचिव सुमन सुस्केरा, प्रेस युनियनका केन्द्रीय उप सचिव, अभय राई, पत्रकार गणेश लम्साल, प्रेस सेन्टर कोशी प्रदेशका महासचिव गोकुल पराजुली, यज्ञ शर्मा, धनकुटाका प्रेस चौतारी अध्यक्ष रविन कट्टेल, नेपाल पत्रकार महासंघ मोरङकी सुशीला पाठक, प्रादेशिक सञ्चार प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष दीपक दाहाल तथा महासंघ कोशी प्रदेशका सल्लाहकार विवेक गौतमलगायतले धारणा राखेका थिए।
वक्ताहरूले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रकारका चुनौती थपिँदै गएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको स्वतन्त्रता र संविधानले सुनिश्चित गरेका अधिकारको रक्षाका लागि सबै पत्रकार तथा पत्रकारसम्बद्ध संघसंस्था एकजुट हुनुपर्ने बताए।
पत्रकार गणेश लम्सालले पत्रकारहरू संविधानको रक्षाका लागि एकजुट भएर आवश्यक परे आन्दोलनमा समेत उत्रिनुपर्ने धारणा राखे। त्यस्तै, गोकुल पराजुलीले निरंकुश शासन र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध पत्रकारहरू एकजुट भएर संघर्ष गर्नुपर्ने बताए।
यज्ञ शर्माले प्रेस स्वतन्त्रताको कुरा गर्ने राज्यबाटै पत्रकारमाथि प्रतिबन्ध लगाउने तथा अंकुश लगाउने काम हुनु चिन्ताजनक भएको उल्लेख गर्दै यस्तो प्रवृत्तिविरुद्ध आवाज उठाउन आवश्यक रहेको बताए।
सुशीला पाठकले संविधानको रक्षाका लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिइन्। प्रादेशिक सञ्चार प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष दीपक दाहालले एउटै स्थानमा भेला भएर विचार आदानप्रदान गर्नु नै एकताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कार्यक्रम आयोजना गरेकोमा प्रदेश समितिलाई धन्यवाद दिए।
महासंघ कोशी प्रदेशका सल्लाहकार विवेक गौतमले पत्रकारिता क्षेत्रमा अझै धेरै चुनौती बाँकी रहेको उल्लेख गर्दै आगामी दिनमा थप सजग र एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै पत्रकारिता क्षेत्रको व्यावसायिक मर्यादा, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको औँल्याएका थिए।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी