
रंगेली,मंसिर ८ गते । मगही संस्कृतिको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्दै मौलिक लोकसंस्कृतिको पहिचान स्थापित गर्ने उद्देश्यले सोमबार रंगेलीस्थित कली मन्दिर प्राङ्गणमा सामचकेवा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्तिक पूर्णिमाका अवसरमा मनाइने सामचकेवा पर्व मगही समुदायको मौलिक सांस्कृतिक परम्परा हो। यस पर्वमा माटोबाट हस्तनिर्मित सामा, चकेवा तथा चुग्ला बनाएर महिला दिदीबहिनीहरूले लोकगीतका लय र भाकासँगै खेल्दै पर्व मनाउने परम्परा रहेको छ। यसले आपसी सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास गरिन्छ।
कार्यक्रममा रंगेली नगरपालिकाका महिला दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरूलाई आयोजक समितिले निमन्त्रणा गरी आवश्यक सांस्कृतिक सामग्रीसहित सहभागी गराएको थियो। सहभागी महिलाहरूले सामा–चकेवा पर्वका परम्परागत गीत तथा सांस्कृतिक गतिविधिमा सहभागी हुँदै मौलिक परम्पराको उत्सव मनाएका थिए।
कार्यक्रममा रंगेली नगरपालिकाका कार्यवाहक नगरप्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा अधिकृत, पूर्व नगरप्रमुख दिलीप अग्रवाललगायत महिला दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।
रंगेली छापाखानाका सञ्चालक अशुपति मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो भाषा, संस्कृति, परम्परा र लोकगीतको संरक्षण गर्नु नै आफ्नो पहिचान जोगाउनु भएकोमा जोड दिइएको थियो।
मगही समुदायको मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्दै सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी