विराटनगर, कार्तिक १५ गते । स्थानीय निर्वाचनलाई दलीय प्रणालीबाट गैरदलीय प्रणालीमा रूपान्तरण गर्नुपर्ने विषयमा विराटनगरमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।
‘पार्टी होइन, पात्र रोजौँ । झण्डा होइन, एजेन्डा बोकौँ’ भन्ने नारासहित गैरदलीय स्थानीय निर्वाचन अभियानको आयोजनामा आज गोष्ठी आयोजना गरिएको हो।
गोष्ठीमा सहभागी वक्ताहरूले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको प्रभावभन्दा योग्य, सक्षम, इमानदार र विकासको स्पष्ट दृष्टिकोण भएका व्यक्तिलाई उम्मेदवार बनाउने वातावरण आवश्यक रहेको धारणा राखे। उनीहरूले स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धाभन्दा नागरिकको आवश्यकता र विकासका एजेन्डामा केन्द्रित बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कृष्ण पोखरेलले संसारका विभिन्न देशमा दलीय र गैरदलीय दुवै प्रकारका निर्वाचन अभ्यासमा रहेको बताए। स्थान र देशको विशेषताअनुसार निर्वाचन प्रणाली फरक हुने उल्लेख गर्दै उनले राष्ट्रिय तहमा दलीय र स्थानीय तहमा ग्रासरुटस्तरको आवश्यकता अनुसार निर्वाचन प्रणाली अपनाउन सकिने धारणा राखे।
उनले लोकतन्त्र दलतन्त्रमा र नागरिकतन्त्र नेतातन्त्रमा रूपान्तरण हुँदै गएको टिप्पणी गर्दै जनतालाई सेवा र सुविधा प्रदान गर्ने सवालमा कुनै पनि तन्त्र बाधक बन्न नहुने बताए। विश्वका विभिन्न देशमा दलीय निर्वाचन प्रणालीबाट गैरदलीय प्रणालीमा गएको इतिहाससमेत रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले गैरदलीय निर्वाचनको विषय आफ्नो पार्टीको घोषणापत्रमा समेत समावेश रहेको बताउँदै अभियानले उठाएको विषयप्रति धन्यवाद व्यक्त गरे। उनले गैरदलीय स्थानीय निर्वाचनको अवधारणामा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको धारणा राखे।
नेकपा एमालेका भोगेन्द्र यादवले व्यक्ति प्रधान हुने अवस्थाले लोकतान्त्रिक शासन व्यवस्थामा चुनौती उत्पन्न गर्न सक्ने भन्दै निर्वाचन प्रणाली र शासन व्यवस्थामा सुधार आवश्यक रहेको बताए। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइएको भए अहिले देखिएका कतिपय समस्या नआउने आफ्नो धारणा व्यक्त गरे ।
नेपाली कम्युनिस्ट पार्टीका भूराज राईले स्थानीय तहका उम्मेदवार छनोटमा स्थानीय नागरिक तथा पार्टीका स्थानीय संरचनाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए। माथिबाट टिकट दिने परिपाटी अन्त्य गर्दै स्थानीयस्तरमै छलफल र सहमतिका आधारमा उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले उम्मेदवारसँग स्पष्ट दृष्टिकोण र विकासको भिजन हुनुपर्नेमा जोड दिए।
समाजिक अभियन्ता पारुल क्षेत्रीले जनतालाई बलियो बनाउने उद्देश्य राखिए पनि व्यवहारमा राजनीतिक दलहरू बलियो बनाउने अभ्यास भइरहेको टिप्पणी गरे । दलबाट मात्रै सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित नहुने भन्दै उनले स्थानीय तहमा दलतन्त्रभन्दा नागरिकतन्त्र आवश्यक रहेको वताए । विराटनगरको मेयर सहरको मेयर बन्नुपर्ने कि कुनै राजनीतिक दलको प्रतिनिधि भन्ने प्रश्नसमेत उनले उठाए ।
प्राध्यापक मेदनी शर्माले स्थानीय निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र व्यक्तिका दुवै विकल्प खुला राख्नुपर्ने धारणा राखे। खेम नेपालीले राजनीतिक रूपान्तरणका कुरा भए पनि सामाजिक रूपान्तरणले अपेक्षित गति लिन नसकेको भन्दै निर्वाचन प्रणालीमै सुधार गर्नुपर्ने बताए।
त्यसैगरी मोहम्मद अफजल हुसैनले ठूला राजनीतिक दलहरू गैरदलीय निर्वाचनको पक्षमा नरहेको उल्लेख गर्दै स्थानीय निर्वाचन गैरदलीय हुनुपर्ने धारणा राखे। राजेश्वर यादवले संघीय लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका रहने भए पनि सबैभन्दा पहिले मानिस इमानदार र जिम्मेवार बन्नुपर्ने बताए । उनले पार्टीको झण्डामाथि प्रतिबन्ध लगाउनेभन्दा निर्वाचनमा नागरिकको भूमिका र उम्मेदवारको इमानदारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा पत्रकार सोनु दास, श्याम सुन्दर सुतिहार, राजनीतिक दलका प्रतिनिधि जीवन गुप्ता र सुरेश सिंह गनगाईलगायतले पनि स्थानीय निर्वाचन गैरदलीय हुनुपर्ने विषयमा आ-आफ्ना धारणा राखेका थिए।
गैरदलिय निर्वाचन अभियानका संयोजक रामरिझन यादवको अध्यक्षतामा सम्पन्न गोष्ठीमा स्थानीय निर्वाचन प्रणाली, उम्मेदवार छनोट प्रक्रिया, राजनीतिक दलको प्रभाव, नागरिकको भूमिका तथा स्थानीय सरकारलाई जनउत्तरदायी बनाउने विषयमा छलफल भएको थियो।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी