जहदा, असाेज १९ गते । नेपालको पूर्वी तराई क्षेत्र विशेषगरी झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल (सतार) समुदायका लागि ‘छाता मेला’ अर्थात् छाता पूजा केवल धार्मिक पर्व मात्र नभई मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै आएको छ।
भदौ र असोज महिनामा आयोजना हुने यस ऐतिहासिक तथा सांस्कृतिक पर्वमा सन्थाल समुदायका मानिसहरू ठूलो उत्साहका साथ सहभागी हुने गरेका छन्। परम्परागत मान्यता अनुसार बाँसमा छाता बाँधेर उचाइमा ठड्याई विशेष पूजाआजा गरिन्छ । संन्थाल समुदायमा प्राकृतिक विपत्ति, खडेरी, महामारीलगायतका संकटबाट रक्षा होस् र गाउँसमाजमा सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने कामनासहित छाता राजाको आराधना गरिने जहदा गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनले जवताईन दिइन्।
उपाध्यक्ष सोरेनका अनुसार छाता मेला सन्थाल समुदायको धार्मिक आस्था मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सांस्कृतिक सम्पदा पनि हो। मेलामा महिला तथा पुरुषहरू परम्परागत पहिरन र गहनामा सजिएर सहभागी हुन्छन् भने विभिन्न परम्परागत बाजाको तालमा सन्थाल नृत्य प्रस्तुत गरिन्छ।
“छाता मेला हाम्रो संस्कृति र पहिचानसँग जोडिएको पर्व हो । नयाँ पुस्तालाई आफ्नो इतिहास, परम्परा, भाषा, कला र संस्कृतिसँग जोडिराख्न यस्ता पर्वको महत्वपूर्ण भूमिका हुन्छ,” उपाध्यक्ष सोरेनकाे भनाइ छ ।
नाचगानसँगै जीवन्त बन्छ मौलिक संस्कृति
छाता मेलाको मुख्य आकर्षणमध्ये सन्थाल समुदायको परम्परागत नृत्य, संगीत र पहिरन पनि हो । धिमाल, झाम्टा तथा अन्य स्थानीय बाजाको तालसँगै प्रस्तुत गरिने सांस्कृतिक नृत्यले मेलाको वातावरणलाई थप जीवन्त बनाउने गर्दछ।
यस्ता सांस्कृतिक प्रस्तुतिले मनोरञ्जन मात्रै प्रदान गर्दैनन्, नयाँ पुस्तामा पुर्खाको संस्कृति, कला र परम्परा हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमसमेत बनेका छन् ।
सामाजिक एकताको बलियो आधार
छाता मेलाले सन्थाल समुदायभित्र सामाजिक एकता र आपसी सद्भाव बढाउन पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ। विभिन्न स्थानमा छरिएर रहेका आफन्त, साथीभाइ तथा छिमेकी गाउँका मानिसहरू मेलामा एकै ठाउँमा भेला हुने भएकाले यसले पारिवारिक सम्बन्ध र सामुदायिक
भाइचारालाई थप मजबुत बनाउने गर्दछ ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई एउटै सूत्रमा बाँध्ने भएकाले छाता मेला सन्थाल समुदायको जीवन्त पहिचानको प्रतीक बनेको छ।
स्थानीय तह तथा सम्बन्धित निकायले यस्ता मौलिक पर्व र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा थप ध्यान दिनुपर्ने आवश्यकता समेत देखिएको छ। आधुनिकताको प्रभावसँगै कतिपय मौलिक परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा छाता मेलाजस्ता पर्वको संरक्षण गर्नु भनेको सन्थाल समुदायको इतिहास र पहिचान संरक्षण गर्नु हो स्थानीय सन्थाल समुदायको भनाइ छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी