विष्णु राजवंशी
विराटनगर, असाेज २२ गते । वातावरणका लागि दिनप्रतिदिन गम्भीर चुनौती बन्दै गएको विद्युतीय फोहोर अर्थात् इ–वेस्टबाट बहुमूल्य तथा दुर्लभ धातु पुनःप्राप्त गर्ने प्रविधि विकासमा विराटनगरका वैज्ञानिकहरूले महत्वपूर्ण सफलता हासिल गरेका छन् ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका रसायनशास्त्रका अनुसन्धानकर्ताले तीन वर्षसम्म गरेको अनुसन्धानबाट फालिएका ब्याट्री तथा विद्युतीय फोहोरमा रहेका लिथियम, निकेल र प्लेटिनमजस्ता बहुमूल्य धातु पुनःप्राप्त गर्न सकिने प्रविधि विकास गरेका हुन्।
त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालय अन्तर्गत अनुसन्धान समन्वय तथा विकास परिषद्को तीन वर्षे ‘उत्कृष्टता अनुसन्धान अनुदान’ अन्तर्गत सञ्चालित अनुसन्धान परियोजनाको अन्तिम प्रतिवेदन बुधबार विशेष समारोहबीच सार्वजनिक गरिएको थियाे ।
‘विद्युतीय फोहोरबाट वातावरणमैत्री चिरल कार्यात्मक आयनिक तरल पदार्थ प्रयोग गरी दुर्लभ माटोका धातुका आयनको दिगो पुनःप्राप्ति’ शीर्षकमा गरिएको अनुसन्धानको मुख्य उद्देश्य विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणबाट निस्कने फोहोरमा रहेका दुर्लभ धातुका आयनलाई वातावरणमा न्यून असर पर्ने प्रविधिबाट पुनःप्राप्त गर्नु रहेको थियो।
फोहोरमै लुकेको ‘सम्पत्ति’ पहिचान
मोबाइल, ब्याट्री, इलेक्ट्रोनिक उपकरणलगायत आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै इ-वेस्टको मात्रा पनि तीव्र रूपमा बढिरहेको छ। यस्ता फोहोर उचित व्यवस्थापन नहुँदा वातावरणमा जोखिम बढ्नुका साथै त्यसमा रहेका बहुमूल्य धातु खेर जाने अवस्था छ।
यही चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यसहित गरिएको अनुसन्धानले फोहोरभित्रै रहेका बहुमूल्य धातुलाई पुनःप्रयोगका लागि निकाल्ने सम्भावना देखाएको छ।
अनुसन्धानमा फालिएका ब्याट्री तथा विद्युतीय फोहोरबाट लिथियम, निकेल र प्लेटिनम जस्ता धातु पुनःप्राप्त गर्न सफलता मिलेको अनुसन्धानकर्ता सिर्जना घिमिरेले जानकारी दिइन्।
विराटनगरबाट अन्तर्राष्ट्रिय सहकार्यसम्म परियोजनाका प्रमुख अनुसन्धानकर्ता महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको रसायनशास्त्र विभागका प्राध्यापक डा. अजय भट्टराई हुन्। सह–अनुसन्धानकर्ताका रूपमा डा. सुजितकुमार शाह तथा भारतको भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास), चेन्नईका प्राध्यापक डा. रमेशलक्ष्मी गर्दास सहभागी थिए।
त्यस्तै, डा. रोहितकुमार देव पोस्ड-डक्टरेट अनुसन्धानकर्ताका रूपमा तथा महिमा कोइराला, निशा मगर, रिजन गिरी र सिर्जना घिमिरे स्नातकोत्तर तहका विद्यार्थीका रूपमा अनुसन्धानमा सक्रिय थिए।
कुल ३० लाख ५० हजार रुपैयाँ बजेटमा सञ्चालित अनुसन्धान परियोजनाको व्यवस्थापनका लागि क्याम्पस प्रमुख डा. रामअवतार शरणको अध्यक्षतामा समिति गठन गरिएको थियो।
समितिमा सहायक क्याम्पस प्रमुख उमेशप्रसाद यादव र लेखा प्रमुख भूपेन्द्र राणा सदस्य, प्रमुख अनुसन्धानकर्ता प्रा.डा. अजय भट्टराई सदस्य-सचिव तथा रसायनशास्त्र विभाग प्रमुख डा. अशोककुमार दास संरक्षक रहेका थिए।
क्याम्पसका निमित्त प्रमुख डा. सुशील अधिकारीले त्रिभुवन विश्वविद्यालयको अनुसन्धान निर्देशनालयबाट प्राप्त उत्कृष्टता अनुसन्धान अनुदानले विराटनगरमै रसायनशास्त्र तथा वातावरणसँग सम्बन्धित उच्चस्तरीय अनुसन्धानलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको बताए ।
अनुसन्धानबाट प्रविधिगत सफलता प्राप्त भए पनि त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न भने ठूलो लगानी र पूर्वाधार आवश्यक रहेको प्रमुख अनुसन्धानकर्ता प्रा.डा. अजय भट्टराईले बताए ।
उनका अनुसार स्थानीय स्तरमै ठूलो मात्रामा फालिने ब्याट्री तथा विद्युतीय फोहोरलाई व्यवस्थित रूपमा संकलन गरी त्यसबाट बहुमूल्य धातु निकाल्न सके वातावरण संरक्षणसँगै आर्थिक लाभको नयाँ सम्भावना सिर्जना हुन सक्छ।
यसका लागि राज्य तथा निजी क्षेत्रले अनुसन्धानमा आधारित प्रविधि र पूर्वाधारमा लगानी गर्नुपर्ने उनको धारणा छ।
इ-वेस्टलाई केवल फोहोरका रूपमा नभई पुनःप्रयोग गर्न सकिने स्रोतका रूपमा उपयोग गर्ने दिशामा विराटनगरका अनुसन्धानकर्ताको यो उपलब्धिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अब प्रयोगशालामा प्रमाणित भएको प्रविधिलाई औद्योगिक स्तरमा लैजान सकिन्छ कि सकिँदैन भन्ने विषय यसको आगामी चुनौती बनेको छ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी