लेखक :

सिरहा, असाेज १९ गते । मानिसको जीवन उसको जन्म,परिवेश,संस्कार र परिस्थितिले धेरै हदसम्म निर्माण गर्दो रहेछ। कसैको जीवन सम्पन्नता बीच हुर्कन्छ । कसैको अभावमा कसैले खर्च गर्नुलाई जीवनको आनन्द ठान्छन । कसैले थोरै साधनबाट धेरै काम निकाल्नुलाई जीवनको कला मान्छन । मेरो जीवन पनि यही दोस्रो धाराबाट बग्दै आएको छ।
पुरानो सामाजिक परम्परामा मानिसका काम र जिम्मेवारीका आधारमा विभिन्न जात-समुदायलाई आ-आफ्नो भूमिका तोकिएको पाइन्थ्यो। त्यही क्रममा कोईरी अर्थात् कुशवाहा जातिलाई खेतीपाती गर्ने, अन्न उत्पादन गर्ने र समाजको खाद्य आवश्यकतामा योगदान पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । मानिसको जीवन धान्न अन्नभन्दा ठूलो आवश्यकता अरू के हुन सक्छ र ? त्यसैले कृषि कर्म केवल एउटा पेशा मात्र थिएनन ।जीवन धान्ने आधार नै थियो।
म पनि त्यही कृषक परम्परामा जन्मिएको मानिस हुँ। मेरा पुर्खाले जंगल फँडानी गरी जमिन आर्जन गरे, त्यसलाई खेतीयोग्य बनाए र पुस्तौँदेखि खेतीपाती गर्दै परिवार मात्र होइन, वरपरको समाजलाई समेत अन्नको आपूर्ति गर्दै आएका थिए । मैले होस सम्हाल्दाको समय गाउँघरमा कोईरी जातिका धेरै परिवारहरू खेतीमै निर्भर थिए । जमिन हुनेहरूले अन्नबालीसँगै नगदेबाली पनि लगाउँथे। खैनी, तम्बाकु, गाँजा, सागसब्जी, बेसार, उखु आदि खेतीबाट नगद आम्दानीको बाटो खोलिन्थ्यो।
तर त्यस बेलाको खेती आजजस्तो सहज थिएन। खेत जोत्नेदेखि बाली भित्र्याउनेसम्म अधिकांश काम आफ्नै हात र पसिनाले गर्नुपर्थ्यो। श्रम नै सम्पत्ति थियो । पसिना नै पूँजी थियो। म पनि यही वातावरणमा हुर्किएँ । बाल्यकालदेखि नै कठोर परिश्रम, अभावसँगको साक्षात्कार र आवश्यकता अनुसार जीवन चलाउने संस्कार मेरो स्वभावको हिस्सा बन्दै गयो ।
मेरा हजुरबुबा सधैँ भन्नुहुन्थ्यो- “आडम्बरमा होइन, सादगीमा जीवनको सुन्दरता हुन्छ।” उहाँको जीवनदर्शनको सार थियो । “सादा जीवन, उच्च विचार” उहाँका लागि पैसा देखाउनका लागि होइन,आवश्यक कामका लागि थियो । थोरै खर्चमा आवश्यक काम पूरा गर्न सकिन्छ भने अनावश्यक रूपमा धेरै खर्च गर्नु बुद्धिमानी होइन भन्ने उहाँको मान्यता थियो।
त्यही संस्कार मैले बुबाबाट पनि पाएँ र आफ्नो जीवनमा निरन्तर अपनाउँदै आएँ। घरमा अन्नको अभाव थिएन । तर नगद पैसा सीमित हुन्थ्यो। त्यसैले पैसाको मूल्य बुझ्न सिकियो । आवश्यक वस्तु सस्तोमा पाइन्छ भने महँगो किन रोज्ने ? काम उही हुन्छ भने ब्रान्डको नाममा अतिरिक्त पैसा किन खर्च गर्ने ? यही सोच विस्तारै मेरो जीवनशैली बन्यो।
आजको समयमा ब्रान्ड देखासिकी र उपभोग जीवनशैलीका अभिन्न अंगजस्तै भएका छन् । तर मलाई ब्रान्डभन्दा आवश्यकता महत्वपूर्ण लाग्छ । वस्तु महँगो छ कि सस्तो भन्नेभन्दा त्यसले मेरो आवश्यकता पूरा गर्छ कि गर्दैन भन्ने कुराले मेरो निर्णय निर्धारण गर्छ । अरूलाई देखाउनका लागि खर्च गर्नुभन्दा आफ्नै आवश्यकता पूरा गरेर बाँकी साधन जोगाउनु मलाई उचित लाग्छ।
यसै कारण कतिपय मानिसले मलाई ‘कन्जुस’ भन्ने गरेका छन्। घरपरिवारका बालबालिका नातिनातिनी वा मसँग बसेर हुर्किएका कतिपयले पनि मेरो यही बानीको अनुकरण गरेका छन् । उनीहरूलाई पनि कहिलेकाहीँ त्यस्तै उपमा दिइन्छ । नयाँ समयको होडबाजीमा दौडिरहेका कतिपय आफन्त वा वरपरका मानिसहरूले मेरो बारेमा ‘कन्जुस’ भनेर कुरा गरेको सुन्ने गरेको छु। तर मलाई त्यसको कुनै विशेष गुनासो छैन ।
यदि आवश्यकताभन्दा बढी खर्च नगर्नु, वस्तुको वास्तविक उपयोगिता हेर्नु, कम मूल्यमा राम्रो काम चल्ने वस्तु रोज्नु र आम्दानी अनुसार खर्च गर्नु कन्जुस्याइँ हो भने हो म कन्जुस हुँ । तर मेरो बुझाइमा यो कन्जुस्याइँ होइन, मितव्ययिता हो, आत्मसंयम हो र जीवनप्रतिको जिम्मेवारी हो ।
मलाई महँगो वस्तु चाहिँदैन, आवश्यक वस्तु चाहिन्छ। अरूले प्रयोग गरेको देखेर आफूलाई पनि त्यही चाहिनुपर्छ भन्ने मलाई लाग्दैन । कमाइ कम छ भने खर्च पनि त्यहीअनुसार हुनुपर्छ। आम्दानी बढ्यो भन्दैमा खर्च पनि अनिवार्य रूपमा बढाउनुपर्छ भन्ने कुनै नियम छैन । बरु अतिरिक्त आम्दानीबाट आफूलाई आवश्यक नपर्ने कुरा किन्नुभन्दा अभावमा रहेका कसैको जीवनमा थोरै भए पनि सहयोग पुर्‍याउन सकियो भने त्यसमा खर्च भएको पैसाले अझ ठूलो अर्थ पाउँछ भन्ने मेरो विश्वास छ।
जीवनको कमाइ केवल आफ्ना सुख-सुविधामा खर्च भएर सकियो भने त्यसको एउटा अर्थ होला । तर त्यसै कमाइबाट कसैको दुःखमा मल्हम लगाउन सकियो, कसैको पढाइमा सहयोग पुग्यो, कसैको उपचारमा हात बढाउन सकियो वा कसैको जीवनमा आशाको एउटा किरण थप्न सकियो भने त्यसको अर्थ अझ फराकिलो हुन्छ।
त्यसैले म आफ्ना सम्बन्धित सबैलाई एउटै कुरा बुझिदिन आग्रह गर्न चाहन्छु । सबै मानिसको कमाइ, परिस्थिति, आवश्यकता र प्राथमिकता एउटै हुँदैन । हामीले अरूको जीवनशैलीलाई आफ्नो मापदण्ड बनाएर कसैको मितव्ययी जीवनलाई कन्जुस्याइँको नाम दिनु उचित हुँदैन । कसैसँग पैसा बढी होला, कसैसँग कम होला, कसैसँग तत्काल खर्च गर्ने सामर्थ्य नै नहोला । यस्तो अवस्थामा मानिसको सम्मान उसको खर्च गर्ने क्षमताले मात्र निर्धारण हुनु हुँदैन ।
कहिलेकाहीँ मलाई यस्तो पनि लाग्छ । कसैले आफूले आशा गरेजस्तो व्यवहार मबाट नपाउँदा, आफूले चाहेअनुसार खर्च नगरिदिँदा वा अपेक्षित सहयोग तत्काल नपाउँदा मलाई ‘कन्जुस’ भनेको त होइन ? तर त्यसले मेरो जीवनदृष्टि बदलिँदैन ।
मैले बाल्यकालदेखि जे देखेँ, त्यही सिकेँ । हजुरबुबा र बुबाबाट जे संस्कार पाएँ, त्यसैलाई आफ्नो जीवनको बाटो बनाएँ । खेतको माटो, किसानको पसिना, सीमित नगद आम्दानी र आवश्यकता अनुसार खर्च गर्नुपर्ने पारिवारिक परिस्थितिले मलाई संयमित जीवनको पाठ पढायो । समय बदलियो, समाज बदलियो, जीवनशैली बदलियो तर मेरो आधारभूत सोच भने बदलिन सकेन र बदल्नुपर्ने आवश्यकता पनि मैले देखिनँ ।
आज कसैले मलाई कन्जुस भन्छ भने त्यसमा मलाई अब कुनै अप्ठ्यारो लाग्दैन । बरु म सहजै भन्छु- “यदि आफ्नो आवश्यकता बुझेर खर्च गर्नु, अनावश्यक देखासिकीबाट टाढा रहनु र बचतलाई महत्व दिनु कन्जुस्याइँ हो भने, म कन्जुस नै सही।”
किनकि यो नामसँग मेरो जीवनको एउटा लामो कथा जोडिएको छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी