लेखक :

विराटनगर, असोज २५ गते । रसुवामा हालै आएको बाढीपहिरोबाट विस्थापित परिवारहरूको पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग जुटाउने उद्देश्यले हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’ को विशेष प्रदर्शन हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी नोभेम्बर १, अर्थात कार्तिक १५ गते आइतबार साँझ ५ बजे, हुङ होम, काउलुनस्थित सनबिम वाम्पो सिनेमा हलमा वृत्तचित्र प्रदर्शन गर्न लागिएको हो ।
११औँ एनआरएनए डेको अवसरमा आयोजना हुन लागेको यो विशेष प्रदर्शन ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित हुन लागेको हो । प्रदर्शनमार्फत दर्शकलाई सगरमाथाको रोमाञ्चक यात्रा र नेपालको हिमाली सम्पदाबारे जानकारी गराउनुका साथै बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारहरूको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ ।
एनआरएनए हङकङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनको घोषणा गर्दै पोस्टर सार्वजनिक गरेको छ । यसअघि हङकङमा सम्पन्न ‘रोड टु एभरेष्ट’को पहिलो प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता र दोस्रो प्रदर्शनको माग बढेपछि पुनः प्रदर्शन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
एनआरएनए हङकङका महासचिव इन्द्र पुनले नेपालीले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद आफ्नै कथा आफैँ भन्ने प्रयासलाई समर्थन गर्नु सबैको दायित्व भएको बताए ।
“हामीले लामो समयसम्म आफ्नो कथा आफैँ भन्न सकिरहेका थिएनौँ । अहिले नेपालीले आफ्नै लगानीमा आफ्नै कथा भन्न खोजिरहेका छन् । सीमित स्रोतसाधनका बाबजुद पनि यस्तो प्रयास भइरहेकोमा हामीलाई गर्व छ,” पुनले भने । उनले हङकङमा रहेका नेपाली नयाँ पुस्ताका बालबालिका तथा युवालाई सगरमाथा र नेपालको हिमाली सम्पदाबारे बुझ्न वृत्तचित्र हेर्न आग्रह समेत गरे ।
वृत्तचित्र प्रदर्शनकी संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले पहिलो प्रदर्शन सफल भएपछि दर्शकको मागलाई सम्बोधन गर्न पुनः प्रदर्शन आयोजना गर्न लागिएको बताइन् ।
उनका अनुसार पहिलो प्रदर्शनमा सहभागी हुन नसकेका दर्शकलाई यसपटक अवसर प्रदान गर्नुका साथै हङकङमा रहेका नेपाली तथा अन्य समुदायका दर्शकमाझ नेपालको हिमाली कथा पु¥याउने उद्देश्य राखिएको छ । उनले हल बुकिङलगायत आवश्यक तयारी पूरा भइसकेको जानकारी दिँदै सबैलाई सहभागी भएर प्रदर्शन सफल बनाउन आग्रह गरिन् ।
एनआरएनएकी महिला उपाध्यक्ष टिका गुरुङले ‘रोड टु एभरेष्ट’ले सगरमाथा आरोहणको कथा मात्र नभई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई समेत उजागर गरेको बताइन् ।
एनआरएनए आईसीसीले वृत्तचित्रलाई विश्वभर पु¥याउने उद्देश्यले वी विल राइज फाउन्डेसनसँग समझदारी गरिसकेको जानकारी दिँदै उनले विश्वभरका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई पनि फिल्म प्रदर्शनका लागि पहल गर्न आग्रह गरिन् ।
“जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे पनि फिल्मले बोल्छ । हामीले यसलाई विश्वभर लैजाने योजना बनाएका छौँ । विश्वभरका एनसीसीलाई पनि यो फिल्म प्रदर्शन गर्न आग्रह गर्दछु,” उनले भनिन् ।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईले ‘रोड टु एभरेष्ट’ सगरमाथा आरोहणको कथामा मात्र सीमित नभएको बताइन्। उनका अनुसार वृत्तचित्रले शेर्पा समुदायको योगदान, साहस, संघर्ष, चुनौती र विश्वाससँगै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावलाई समेत प्रस्तुत गरेको छ ।
“यो फिल्म सगरमाथाको मात्र कथा होइन । यसमा शेर्पा समुदायको योगदान, साहस, संघर्ष, चुनौती र विश्वाससँगै जलवायु परिवर्तनको असरको कथा पनि छ । सगरमाथा हामी सबैको पहिचान र गौरव हो,” राईले भनिन् । उनले हङकङमा रहेका सबै नेपालीलाई वृत्तचित्र हेर्न र रसुवाका विपद् प्रभावित परिवारलाई सहयोग गर्ने अभियानमा सहभागी हुन आग्रह गरिन् । पत्रकार सम्मेलनको सञ्चालन एनआरएनए हङकङका सचिव विश्वनाथ घिसिङले गरेका थिए। कार्यक्रममा एनआरएनए हङकङका पूर्वअध्यक्ष गोकर्ण ढकाल, पदाधिकारी मनोज गौतम, अर्जुन गौचन, मनिष लिम्बू र सवित्रा इङनमलगायत नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङको उपस्थिति थियो ।
५० मिनेट लामो ‘रोड टु एभरेष्ट’ वी विल राइज फाउन्डेसनद्वारा निर्मित वृत्तचित्र हो । यसले समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको यात्रामार्फत पर्वतारोहण, मानवीय साहस, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनका विषयलाई प्रस्तुत गरेको छ ।
नेपालमा विशेष प्रदर्शनपछि हङकङमा ग्रान्ड प्रिमियर गरिसकेको वृत्तचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ पु¥याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी