लेखक : श्यामसुन्दर सुतिहार

विराटनगर, कार्तिक २ गते । प्रशोधित पानी उत्पादन तथा बिक्री-वितरण गर्दै आएका उद्योगमध्ये विराटनगर महानगरपालिका-८ मा रहेको पूर्वाञ्चल निर्मल जल उद्योग मोरङ जिल्लामा ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्ने पहिलो जल उद्योग बनेको छ।
उद्योगका प्रबन्धक गणेशबहादुर खड्काका अनुसार उद्योगले आवश्यक प्रक्रिया पूरा गरेपछि ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको हो। यस उपलब्धिले उद्योगको गुणस्तर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउनुका साथै उत्पादनको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ISO को पूरा रूप International Organization for Standardization हो। यो विभिन्न क्षेत्रका वस्तु, सेवा तथा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मापदण्ड विकास गर्ने संस्था हो । ISO 9001:2015 भनेको संस्थाले आफ्नो काम, उत्पादन तथा सेवाको गुणस्तर व्यवस्थापन गर्न अपनाउने प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड हो। यसले उत्पादनको गुणस्तर कायम राख्ने प्रक्रिया, ग्राहकको सन्तुष्टि, जिम्मेवारीको स्पष्टता तथा निरन्तर सुधारमा जोड दिन्छ।
प्रबन्धक खड्काका अनुसार ISO प्रमाणपत्र प्राप्त गर्न निर्धारित मापदण्डअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ। उद्योगको गुणस्तर व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउँदै उत्पादन तथा सेवा प्रक्रियामा सुधार ल्याउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
उहाँले ISO प्रमाणपत्र प्राप्तिसँगै उद्योगले आफ्नो बजार विस्तार गर्ने अवसर पाएको बताउनुभयो। आवश्यक कानुनी प्रक्रिया, खाद्य सुरक्षा तथा निर्यातसम्बन्धी मापदण्ड पूरा गर्न सके उद्योगको उत्पादन विदेशी बजारसम्म पुर्‍याउने सम्भावनासमेत बढ्ने उहाँले बताउनुभयो ।
२०५६५/०५६ सालमा राजेश कोइरालाले दर्ता गराउनुभएको पूर्वाञ्चल निर्मल जल उद्योगले हाल विभिन्न परिमाणका जार तथा बोतलमा प्रशोधित पानी उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ। उद्योगको प्रतिघण्टा ६ हजार लिटर पानी उत्पादन गर्ने क्षमता रहे पनि हाल प्रतिघण्टा करिब ५ हजार लिटर पानी उत्पादन भइरहेको प्रबन्धक खड्काले जानकारी दिनुभयो।
उद्योगले २० लिटरका जार तथा एक हजार मिलिलिटर र ५०० मिलिलिटरका बोतलमा पानी बिक्री गर्दै आएको छ। उद्योगका अनुसार मासिक रूपमा करिब २२ हजार जार र १६ हजार बोतल पानी बिक्री–वितरण हुँदै आएको छ।
मोरङ जिल्लामा करिब चार दर्जन प्रशोधित पानी उद्योग सञ्चालनमा रहेको अनुमान छ। यस्तो प्रतिस्पर्धात्मक बजारमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर व्यवस्थापन प्रणाली अपनाउनु उद्योगका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
प्रशोधित पानीको बजार विस्तारसँगै उपभोक्ताले सुरक्षित र गुणस्तरीय पानी पाउनुपर्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसैले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्नु उद्योगका लागि उपलब्धि भए पनि पानीको वास्तविक सुरक्षा तथा पिउनयोग्यता सुनिश्चित गर्न नियमित प्रयोगशाला परीक्षण, स्वच्छ उत्पादन प्रक्रिया र सम्बन्धित निकायले तोकेका मापदण्डको पालना आवश्यक हुन्छ।
पूर्वाञ्चल निर्मल जल उद्योगले प्राप्त गरेको यो उपलब्धिले मोरङका अन्य पानी उद्योगलाई समेत गुणस्तर व्यवस्थापन प्रणाली सुधार गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी